बिर्तामोड मंसिर, १२ ।

बुधबारबाट विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियान मार्फत् हिंसा न्यूनीकरणका लागि विश्वव्यापी रुपमा सचेतनामुलक कार्यक्रम शुरु भएका हुन् । अभियानमा लैंगिक हिंसा अन्त्य गर्न, हिंसा भइहाले कानुनी उपचारको विषयमा जनचेतना जगाउन नेपालमा पनि विभिन्न माध्यमबाट जानकारी मुलक कार्यक्रम शुरु भएका छन् । यसरी विशेष गरी १६ दिने अभियान मार्फत् र वर्षभरी लैंगिक हिंसा र महिला तथा बालबालिका विरुद्ध हुने अपराध अन्तयका लागि विभिन्न प्रयास हुँदाहुँदै पनि अपराधका घटनामा कमि आउन सकेको छैन ।


त्यसमा पनि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर पछिल्लो समय असुरक्षित बन्दै गएको छ । गत साउनमा शरणार्थी शिविरमा ८ बर्षिया बालिका शिविर भित्रकै ७४ बर्षिय वृद्धबाट बलात्कृत भइन् । छिमेकी वृद्धबाट बलात्कृत बालिकाका परिवारले कानुनी ढोका भने ढक्ढकाए । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गत आर्थिक वर्षको कात्तिकदेखि साउनको पहिलो हप्तासम्ममा ३ जना बालिकासहित एक जना महिला बलात्कृत भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शिविरको अवस्थाबारे जानकारी गराउँदै किशोरी । तस्बिर ः मनिषा चम्लागाईँ ।


गत आवको कात्तिक पहिलो साता शिविर भित्रकी ९ बर्षिया बालिका २६ बर्षिय छिमेकी पुरुषबाट बलात्कृत भइन् । त्यस्तै, जेठमा ६१ बर्षिय पुरुषले १२ बर्षिया झड्केली छोरीलाई बलात्कार गरे । शिविर भित्र बालिका मात्र असुरक्षित छैनन् । । शिविरकै ५५ बर्षिया महिला पनि गत असारमा ४९ बर्षिय छिमेकी पुरुषबाट बलात्कृत भइन् ।

शिविर भित्रका किशोरी आफूहरुलाई असुरक्षित महसुस हुँदै गएको बताउँछन् । शिविरकी १९ वर्षिया रिता मगर शिविर भित्र कै मानिसहरुबाट यहाँका बालबालिकादेखि महिलासम्म असुरक्षित रहेको बताउँछिन् । “हिजोआज शिविरमा बलात्कार, कुटपिटलगायत हिंसाका घटना बढ्दै गइरहेका छन्” मगरले भनिन्, “आफन्त र छरछिमेकीहरुबाट नै बलात्कृत हुनेहरु धेरै छन् ।” दमक बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्ययनरत् उनी कतिपय घटनाहरु भने बाहिर नआउने गरेको बताउँछिन् । “जति घटना प्रहरीसम्म पुग्छन् त्यो भन्दा धेरै शिविर भित्रै गुमनाम हुने गर्छन्” मगर भन्छिन् । शिविर भित्रकै १५ बर्षिया बालिका पनि शिविरमा बस्न असुरक्षित महसुस हुने बताउँछिन् । कक्षा ९ मा अध्ययनरत् देविका मगरले हिंसामा परेको कुरा अरुलाई सुनाए घरपरिवार र छरछिमेकीबाट बदनाम हुने डरले पनि यहाँका पीडित कानुनी कारवाहीसम्म नपुग्ने गरेको सुनाइन् ।


शिविरमा हुने अधिकांश घटनाको कारक तत्व लागुऔषध तथा मादकपदार्थ सेवन नै रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । “कम जनसंख्या रहेको ठाउँमा ६ महिनाको अवधिमा ४ वटा बलात्कारका घटना घटेका छन्” पण्डितले भने, “लागुऔषध र मादकपदार्थ सेवन कर्ता बढेकाले शिविर भित्र अपराधजन्य घटना बढ्दै गएका हुन् ।” “जति घटना घटेका छन् त्यसमा अधिकांश पीडकले मादकपदार्थ सेवन गरेको पाइएको छ” प्रमुख पण्डितले भने । बेरोजगारी र अशिक्षाले पनि अपराधजन्य घटना बढाएको पण्डित बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्