भद्रपुर, मंसिर १२ । भद्रपुर नगरपालिका क्षेत्र भित्रका सबै विद्यालयहरू भौतिक रूपमा मंसिर १४ गतेबाट सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । नेपाल सरकारले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नगर कार्यपालिकाले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो ।


भद्रपुर नगर शिक्षा शाखाले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न नगरपालिका क्षेत्रका विद्यालयहसित कार्ययोजना माग गरी शुक्रबारसम्म संकलनको समयावधि तय गरेको छ भने १३ गते शनिबार विद्यालयले पेश गरेका कार्योजनामाथि छलफल गरी विद्यालय सञ्चालनको औपचारिक निर्णय हुने जनाइएको छ ।


शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तय गरेको मापदण्ड पूरा गरेर मात्र विद्यालय सञ्चालन हुने गरी तयारी भइरहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय सञ्चालन गर्न व्यवस्थापन समितिले अभिभावक, शिक्षक कर्मचारी, बाल क्लब लगायत प्रत्यक्ष सरोकारवालासित सहमती गरी विद्यालय सञ्चालन कार्योजना बनाएर बुझाउनु पर्ने छ भने विद्यालय सञ्चालन पश्चात नगर शिक्षा समितिले स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाको मूल्यांकन हुने छ ।

कोरोना भइरसको विश्वव्यापी प्रभावले गर्दा २०७६ देखि बन्द रहेका भद्रपुरका विद्यालयहरूमा गत साउनमा पनि कक्षा ९ र १० सञ्चालन गरिएकोमा केही विद्यार्थी संगठनको बिरोध भएपछि एक हप्तामै जिल्ला प्रशासन कार्यालय झापाले बन्द गराएको थियो । वैकल्पिक शैक्षिक गतिविधिहरु सञ्चालन भइ रहेका नगर क्षेत्रका विद्यालयहरू नगर शिक्षा समितिको वैठकले भर्खरै सरकारद्वारा जारी गरिएको विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरी विद्यार्थीहरुलाई भौंतिक रूपमा नै विद्यालयमा उपस्थित गराएर कक्षा सञ्चालन गराउने निर्णय गरेको नगर शिक्षा शाखाको भनाइ छ ।


नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलका अनुसार –‘नगरका सबै विद्यालयले सरकारले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ । सबै विद्यालयले शुक्रबारसम्ममा कक्षा सञ्चालन गर्ने ढाँचा शिक्षा शाखामा प्रस्ताव गर्र्ने उनले जानकारी दिए । शिक्षा सञ्चालन कार्य ढाँचा अनुसार स्वास्थ्य मापदण्ड अन्र्तगत अनिवार्य मास्क लगाउनु पर्ने, हातधुने साबुन पानीको व्यवस्था हुनु पर्ने, सेनिटाइजरको व्यवस्थापन गर्नु पर्ने, थर्मल गनबाट ज्वरो मापन गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने छ ।

तर भद्रपुर नगर क्षेत्रका निजी क्षेत्रका १४ वटा विद्यालयहरूले सरकारी नियम मिच्दै बैकल्पिक विधिलाई छोडेर स्वास्थ्य सुरक्षा सावधानीलाई समेत बेवास्ता गर्दै निरन्तर भौतिक रूपमा विद्यालय सञ्चालन गरिरहेका थिए । ती विद्यालयहरूलाई नगर सरकारले कुनै कारवाही गर्न सकेको छैन भने त्यहाँ अध्ययनरत विद्यार्थीहरू सुरक्षा जोखिम मोलेर विद्यालय गइरहेको अभिभावकहरूको गुनासो रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्