बिर्तामोड , मंसिर १२ । झापा जिल्लाकै नमूना विद्यालय कहलिएको बिर्तामोड १० विराटपोखरस्थित विराट आधारभूत विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पिटेको विषयले यतिबेला निकै चर्चा पाएको छ । विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटाले शिक्षक इन्द्रप्रसाद बाँस्कोटालाई कार्यालयभित्रै पिटेका हुन् । दादागिरी शैलीमा शिक्षक पिट्ने र उल्टै हप्काउने प्रअ बद्रीलाई कार्वाहीको माग गर्दै अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्दै अभिभावक

गत कात्तिक २६ गते सो घटना भएको हो । कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा १ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो । त्यसको जानकारी नपाएर शिक्षक इन्द्र विद्यालय पुगेका थिए त्यसको भोलिपल्ट विद्यालय आएका शिक्षक इन्द्रले क्यालेन्डरमा नरहेको विदाको वारेमा जानकारी दिएको भए आफूलाई दुख हुदैनथ्यो भनी प्रअ बद्रीसमक्ष गुनासो गरेका थिए । त्यही विषयमा कार्यालयमा भनाभन हुँदा प्रअ बद्रीले शिक्षक इन्द्रको गालामा मुक्का प्रहार गरेका थिए । ‘एक कल फोन गरेर मलाई विदाको जानकारी गराएको भए धुलाबारीदेखि आएर फर्किनु पर्ने थिएन मैले गुनासो राखेँ ’ शिक्षक इन्द्रले भने ,‘त्यति भन्दा उहाँले नबोल्ने शब्द बोलेर मनपरी भन्नु भयो ।’ भनाभनकै क्रममा प्रअले हान्नका लागि पहिला कुर्सी उचालेको तर आफू ठिङ्ग उभिदा कुर्सी राखेर मुक्काले गालामा जोडले हानेको शिक्षक इन्द्रले घटना सुनाए । मुक्का प्रहारबाट तीन दिनसम्म आफ्नो अनुहार सुन्निएको उनले बताए । आफूहरुको सामुन्ने प्रअले हातपात गरेको प्रत्यक्षदर्शी शिक्षक प्रेम सेढाई र भद्रकला प्रसाईले बताएका छन् ।

विद्यालयभित्रै शिक्षक पिटेका नेपाल शिक्षक संगठन बिर्तामोडका सचिवसमेत रहेका प्रअ बद्रीले आत्मालोचना गर्नुको साटो घटनालाई दबाउने प्रयास गरेको र अन्य शिक्षकहरुलाई पनि दमन गर्न खोजेको भन्दै अभिभावकहरुले हिजो कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि आज विद्यालय पुगेका शिक्षकहरु कागजमा हाजिरी गरेर घर फर्केका छन् । प्रअ बद्री भने विद्यालय नआएको निकै दिन भएको बताइएको छ ।

पीडितले दिएको निवेदन

त्यस घटनालाई लिएर पीडित शिक्षक इन्द्रले कात्तिक २६ गते विद्यालयमा निवेदन दिएका थिए । त्यसैगरी शिक्षकहरुले कात्तिक २९ गते विद्यालयमा भेला गरी दोषीमाथि कार्वाही गर्न र विद्यालयमा पठनपाठनको वातावरण बनाइदिन माग गर्दै विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , नगर शिक्षा समिति र नेपाल शिक्षा महासंघलाई बोदार्थ दिएका थिए । तर , अहिलेसम्म त्यस विषयमा कुनै छलफल नभएपछि र गल्ती गर्ने प्रअले आत्मालोचना नगरेपछि आफूहरुले तालाबन्दी गरेको स्थानीय अभिभावक खेम चुडालले बताए । उनले पहिलादेखि प्रअ बद्रीले जो बोल्यो उसलाई हप्काइहाल्ने व्यवहार गर्दै आएकोसमेत बताए । करिव दुई वर्षअघि उनी त्यस विद्यालयमा आएका हुन् । आएदेखि नै विद्यालयलाई अशान्त बनाएको , गल्ती गरेपछि आत्मालोचना नगरेको , अपांगमैत्री खेल मैदानको बजेट फ्रिज गराएकोजस्ता आरोप अभिभावकहरुले लगाएका छन् । आफूहरुले छलफलमा बोलाउँदा नआएको स्थानीय सिद्धिबिनायक टोल विकास संस्थाका अध्यक्ष वेनु पाठकले बताए ।

शिक्षकहरुको भेलाको निर्णय

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विमलीले घटनाका वारेमा पटकपटक छलफलको प्रयास गर्दा समय नमिलेको बताए । विद्यालयभित्रको विवाद विद्यालमै मिलाउन आफू प्रयासरत रहेको उनले जानकारी दिए । यस विषयमा प्रअ बद्रीलाई सोध्दा उनले आफू विरामी भएको र पर्सी विद्यालय आएर विवाद मिलाउने प्रतिक्रिया दिए । पिट्ने प्रअ बद्री र पिटाइ खाने शिक्षक इन्द्र नातामा काका भतिजा हुन् । घटना बाहिरिएर तालाबन्दीसम्म पुगेपछि प्रअ बद्रीले पारिवारिक रुपमा मिलाउन दवाव दिएको बताइएको छ । तर , शिक्षक र अभिभावकहरुले विद्यालयमा भएको घटना विद्यालयमै मिलाउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्