बिर्तामोड , मंसिर १३ । पर्यटन मन्त्री एवं नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकता नमिलाइकन हतारमा गर्दाखेरि नै अहिलेको नकारात्मक परिणाम आएको बताएका छन् ।

बिर्तामोडमा सिद्धार्थ होटल ग्रान्ड सिटीको आज उद्घाटन गर्दै उनले सबै कुरा नमिलाइकन नेकपा एमाले र माओवादीबीच एकता गर्दा यो संकट आएको धारणा राखेका हुन् । उनले सतारुढ नेकपा फुट्दा पार्टी र नेता मात्र नफुटेर देशको भाग्यसमेत फुट्ने चिन्ता व्यक्त गरे । नेकपा फुट्नेवित्तिकै चरमपन्थी , अतिवादी र उग्रवामपन्थीहरु सल्बलाउने उनको शंका छ । ‘यदि नेकपा तलमाथि भयो भने संविधान च्यात्नेहरुको हौसला बढ्छ ’उनले भने ,पहाडे– मधिशे , पूर्व–पश्चिमको आगो बल्न सक्छ र देशमा अराजकताको खतरा हुनसक्छ ।’ राजतन्त्रको नारा अगाडि सारेका राजावादीहरुलाई मरिसकेको भुतप्रेत र पिचासको संज्ञा दिदै उनले झापा लगायतका स्थानमा दुईचार जना पिचास सडकमा उत्रिदैमा केही नहुने ठोकुवा गरे । राष्ट्रिय एकताको पार्टी भएकाले नेकपाले त्यस्ता अतिवादी शक्तिलाई आउन नदिने मन्त्री भट्टराईले सचेत गराए । नेकपा लोकतान्त्रिक पार्टी भएकाले अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनउपर छलफल चलाउनु पर्छ भन्दै उनले आज बसेको सचिवालय बैठकले पनि सहमति गर्न नसके स्थायी कमिटीले ती प्रतिवेदन इन्कार गरेर अर्को साझा प्रतिवेदन तयार पार्ने जानकारी दिए । यो ऐतिहासिक संकटलाई पार लगाउँदै नेकपा सुपरफास्ट बाटोमा हिड्ने उनले बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्