बिर्तामोड मंसिर १४ । ढल्किँदो उमेरसँगैको बढ्दो जाँगर । कर्मप्रतिको आफ्नै मोह । झापा अर्जुनधारा नगरपालिका –५का बसन्त राजवंशी मुख्य पेशा हो, शिक्षण । उनी अर्जुनधाराकै भानु माविका शिक्षक हुन् । विद्यालय जाने, विद्यार्थीलाई पढाउने राजवंशीको कर्म नै हो । राजवंशीले शिक्षकको जागिर खाएको २७ वर्ष पुगिसकेको छ । तर, उनी यतिमामात्रै सीमित छैनन् । दिनभरी शिक्षण पेशामा व्यस्त रहने उनी विहान–बेलुका उब्रेको समयमा तरकारी खेतीमा व्यस्त हुन्छन् ।


बिहान सबेरै उठ्नु, घर नजिकै लगाइएका विभिन्न तरकारीको गोडमेल गर्नु, सिँचाइ गर्नु उनको दैनिकीमा पर्छ । तरकारी खेतीमा व्यस्त भेटिएका राजवंशी भन्छन्, “शिक्षण पेशासँगै कृषिमा रम्न पाउँदाको खुशी नै बेग्लै छ ।” शिक्षण गर्नु भन्दा पहिलेदेखि नै आफू कृषि कर्म गर्दै आएको राजवंशीको भनाई छ । कृषि व्यवसायबाट पनि राजवंशीको राम्रो आम्दानीे छ ।


राजवंशी ६ कठ्ठामा तरकारी खेती गर्छन् । घर २ कठ्ठा जग्गा भने भाडामा लिएका हुन् । राजवंशीले अहिले ब्रो काउली र फूल कोपी लगाएका छन् । कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने मान्यता राख्ने राजवंशी मेहनत गरे मेहनतको कमाई राम्रो हुने बताउँछन् । गोबर मलको प्रयोग गरेर तरकारी उत्पादन गर्दै आएका राजवंशीले एक सिजनमा १ लाख ३० हजारसम्मको कोपी बिक्री गर्ने गरेको बताउँछन् । “कोपी निस्कने सिजनको शुरुवाती चरणमा आफ्रनो तरकारीले बजार पाउने भएकाले राम्रो मूल्य पाउने उनी बताउँछन् । दशैं पछि लगाएको कोपी अबको सात दिनमा बजार पुग्ने उनले बताए ।


अरु सिजनमा करेला, बोडी, साग, घिरौँला, टमटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । हरेक वर्ष तरकारी उत्पादन गरेरै राम्रो आम्दानी गर्ने गरेको राजवंशीले बताए । व्यापारीहरुले घरमा नै आएर तरकारी खरिद गर्ने गरेको उनी बताउँछन् । बिर्तामोड, अर्जुनधारा लगायतका व्यापारी तरकारी खरिदका लागि आउने गरेको राजवंशी बताउँछन् । ५ जनाको परिवार रहेको राजवंशीका सबै सदस्य उनलाई व्यवसायमा सहयोग गर्छन् । पछिल्लो समय तरकारीले राम्रो मूल्य पाउँदै गएको उनी बताउँछन् ।


झापाका कृषकहरुको निम्ति तरकारी खेती आजभोलि आम्दानीको बलियो श्रोत बन्दै गएको छ ।कम लगानी र थोरै मेहनतबाट पनि मनग्य आम्दानी भएपछि यहाँका कृषकहरू तरकारी खेतीमा आकर्षित भई मनग्य आम्दानीको श्रोत बन्न पुगेको हो । यहाँका कृषकले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्