बिर्तामोड , मंसिर १५ । महेन्द्र रत्न नमूना माध्यमिक विद्यालय बिर्तामोडको दोस्रो विद्यालय भवनको आज शिलान्यास गरिएको छ ।

शिलान्यास गर्दै खरेल

नेपाल सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले दोस्रो नमूना विद्यालय भवनको शिलान्यास गरेका हुन् । उनले संविधानसभाले बनाएको वर्तमान संविधान परिवर्तन गर्न सकिने तर च्यात्न नसकिने बताए । जनताका प्रतिनिधिले बनाएको संविधानलाई कमजोर नआँक्न आग्रह गर्दै महान्यायाधिवक्ता खरेलले लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्न अहिले संभव नभएको स्पष्ट पारे । ‘व्यवस्था परिवर्तन अहिले संभव छैन’ राजावादीहरुको आन्दोलनप्रति इंगित गर्दै उनले भने,‘ व्यवस्था परिवर्तनको कुनै आधार छैन ।’ वर्तमान संविधानप्रति कुनै विमति भए त्यसलाई संशोधन गर्न सकिने उनको भनाइ थियो ।
शिलान्यास भएको अढाई तलाको १२ कोठे भवनको लागि अढाई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसका लागि १ करोड रुपैयाँ विनियोजन भइसकेको प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए । एक वर्षभित्र सो भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । त्यस्तै पहिलो नमूना विद्यालय भवन भने निर्माण सम्पन्न हुन लागेको छ । पहिलो भवन चार तलाको १६ कोठे रहेको छ । त्यसका लागि करिव ३ करोड रुपैयाँ खर्च भएको भवन निर्माण समितिका अध्यक्ष टंक उप्रेतीले बताए । जुन भवन २०७६ बैशाख ३१ गते शिलान्यास गरिएको थियो । बिर्तामोड ३ बिर्ताबजारमा महेन्द्र रत्न मावि रहेको छ । त्यसलाई नमूना माविको रुपमा विस्तार गर्न वडा नं ५ स्थित विद्यालयको आफ्नै ९ विगाह जग्गामा विभिन्न संरचनाको निर्माण थालिएको हो ।

पहिलो भवन

महेन्द्र रत्न नमूना माविको लागि १ अर्ब १४ करोडको गुरुयोजना तयार गरिएको छ । त्यसअन्तर्गत विद्यालय भवन निर्माण गर्नका लागि पहिलो वर्ष २०७५ मा १ करोड , २०७६ मा डेढ करोड र यस वर्ष १ करोड रुपैयाँ आएको प्रअ खरेलले जानकारी दिए । त्यस्तै भवनका लागि बिर्तामोड नगरपालिकाले पनि सहयोग गरेको छ । तीनवटा भवन निर्माण सम्पन्न भइसकेपछि विद्यालयलाई नयाँ ठाउँमा सारिने खरेलले बताए ।
महान्यायाधिवक्ता खरेलको प्रमुख आतिथ्य एवं भवन निर्माण समितिका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ खरेलले गरेका थिए । पूर्व सांसद डिल्ली सिटौलालगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा प्रदेश सांसदहरु एकराज कार्की , विमला विक , पूर्व राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटी , जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, नेकपाका नगर अध्यक्ष ज्ञानुराम प्रसाई , नेपाली कांग्रेसका जलकुमार गुरुङ, राप्रपाका राजकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भवन निर्माण समितिका सदस्य सिपी कडरियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्