बिर्तामोड , मंसिर १६ । शिक्षकलाई कार्यालयभित्र मुक्का हान्ने बिर्तामोड १० विराटपोखरस्थित विराट आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटाले माफी मागेका छन् ।

बिर्तामोड १० नं वडा कार्यालय , विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , नगर शिक्षा शाखा, नगर शिक्षा समिति , शिक्षक महासंघ, स्थानीय सिद्धिविनायक टोल विकास संस्थालगायतका प्रतिनिधिहरुको आमभेलामा प्रअ बाँस्कोटाले आत्मालोचना गरेका हुन् । अब उप्रान्त त्यस किसिमको हर्कत नगर्ने उनले लिखित सहमति जनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विमलीले बताए । त्यस्तै मुक्का खाने शिक्षक इन्द्रप्रसाद बाँस्कोटाले आफ्नो कारणले त्यस्तो परिस्थिति सिर्जना भएको भन्दै अबदेखि त्यस्तो नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमलीको अध्यक्षता एवं वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको भेलामा नगर शिक्षा शाखाका केशर खवास , नगर शिक्षा समितिका कृष्ण पाठक, शिक्षक महासंघका उमानाथ भण्डारी र जयकुमार प्रसाई , शिक्षक अभिभावक संघका नरेश प्रसाई , स्थानीय सिद्धिविनायक टोल विकास संस्थाका बेनु पाठक , प्रजापति सिटौलालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रतिनिधि कृष्णकुमारी दुलालले गरेकी थिइन् । गत कात्तिक २६ गते सो घटना भएको थियोे । कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा १ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो । त्यसको जानकारी नपाएर शिक्षक इन्द्र विद्यालय पुगेका थिए त्यसको भोलिपल्ट विद्यालय आएका शिक्षक इन्द्रले क्यालेन्डरमा नरहेको विदाको वारेमा जानकारी दिएको भए आफूलाई दुख हुदैनथ्यो भनी प्रअ बद्रीसमक्ष गुनासो गरेका थिए । त्यही विषयमा कार्यालयमा भनाभन हुँदा प्रअ बद्रीले शिक्षक इन्द्रको गालामा मुक्का प्रहार गरेका थिए । शिक्षक पिट्ने प्रअ बद्रीलाई कार्वाहीको माग गर्दै अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका थिए । आमभेलामा छलफल गराउने सहमतिमा अभिभावकहरुले आइतबार ताला खोलिदिएका थिए । त्यसको भोलिपल्ट हिजो भेला डाकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्