झापा , मंसिर १६ । शिवसताक्षीका दुईसहित झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ का एक महिला र अर्का बृद्धा रहेका छन् । होम आइसोलेसनमा रहेकी शिवसताक्षी ८ की ३० वर्षिया रेनुका लुइटेललाई दमकको कोभिड हस्पिटल लादै गर्दा आज दिउँसो १ बजे बाटैमा मृत्यु भएको हो । उनलाई मंसिर १५ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै शिवसताक्षी ८ का ८७ वर्षीय बृद्ध हर्कबहादुर राईलाई कनकाई माईमा अन्त्येष्टि गर्दैगर्दा कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ । उनको नोवेल मेडिकल कलेजमा गएराति मृत्यु भएको थियो । हिजो दिउँसो पिसिआर परीक्षण गरिएका बृद्धको राति नै मृत्यु भएको हो । कोरोना पोजिटिभको रिपोर्ट भने अन्त्येष्टि गर्दागर्दै आएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाका संजय ठकुरीले बताए । योसँगै शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ९ पुगेको छ । त्यस्तै दमक नगरपालिका वडा नं ३ की ८२ वर्षिया दाहाल थरकी बृद्धाको धरानमा गएराति मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई १० दिनअघि भर्ना गरिएको थियो । उनको लाशलाई धरानबाट ल्याएर परिवारले अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ३१ र झापामा ११५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्