बिर्तामोड , मंसिर १६ । बिर्तामोड ५मा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले दशौं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

शिखर बचत तथा ऋण सहकारी संस्थाले मंसिर १६ गतेदेखि २१ गतेसम्म मुख्य कार्यालय बिर्तामोड, राजगढ र गरामनी सेवाकेन्द्रबाट वार्षिक प्रतिवेदन वितरण गरी मंसिर २२ गते संस्थाको भवनमा दशौं बार्षिक साधारणसभाको समापन गरिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको जारी निर्देशिका अनुसार संस्थाको दशौं वार्षिक साधारणसभा मंसिर २२ गते संस्थाको भवनमा गरिने उनले बताए ।
संस्थाले दशौं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मंसिर १६ गतेदेखि २१ गतेसम्म सदस्यहरुले साधारणसभाको प्रतिवेदन बुझ्न र सुझाव दिन उनले आव्हान गरे । कार्यक्रमका संस्थाका अध्यक्ष राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले आर्थिक वर्ष २०७६–०७७ मा संस्थाले गरेको कार्यक्रम र आर्थिक वर्ष २०७७–०७८ मा गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा संस्थाको शेयर सदस्य छ हजार नौ सय ९९ जना, शेयर पुँजी चार करोड ७९ लाख २८ हजार सात सय, निक्षेप संकलन ४६ करोड २५ लाख ३० हजार पाँच सय १४, कूल लगानी ४९ करोड ४५ लाख चार हजार आठ सय ८७, आम्दानी आठ करोड ३४ लाख तीन हजार एक सय १५, खर्च सात करोड ३२ लाख ४४ हजार नौ सय ८४ र नाफा एक करोड एक लाख ५८ हजार एक सय सय २१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले शिखर एमबैंक एपमार्फत बैकिङ सेवा, मोबाइल बैंकिङ, एसएमएस सेवा, लकडाउनमा पनि सातै दिन दैनिक १२ घण्टा सेवा, कोभिड प्रभावित व्यवसायी सदस्यहरुलाई राहत सुविधा, एकीकरण र सेवाकेन्द्र विस्तार, संस्थाले तीन सय १९ जना दोहोरो सदस्य र दुई सय ३९ जना निष्कृय सदस्य खारेज, लकडाउनको समयमा भाकाभित्र साँवा र व्याज तिर्ने सदस्यहरुलाई हर्जना र ब्याजमा १० प्रतिशत छुट, लकडाउनको समयमा बिर्तामोड, अर्जुनधारा र बाह्रदशीमा तीन लाख रुपैयाँ र खाद्यान्न सहयोग, पिसिआर परीक्षण प्रयोगशालाका लागि एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ सहयोग, सहुलियत दरमा स्वास्थ्य सेवासुविधा, सदस्य बिमा सुविधा, राहत कोष, घरायसी सामान खरिदमा बचत योजना, सदस्य कार्ड वितरण लगायत विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको अध्यक्ष राउतले जानकारी दिए । त्यस्तै संस्थाले आर्थिक वर्ष २०७७ – ०७८ मा एक व्यक्ति एक सहकारीलाई कडाईका साथ लागू गरिने, राहतकोष बचत योजना सञ्चालन, मेरो शिखर मेरो बचत, मेरो बचत मेरो सुरक्षा बीमा बचत सञ्चालन, दोहोरो सदस्य लिएका सदस्यलाई कुनै समितिमा नराखिने व्यवस्था, उद्यम विकास कार्यक्रम गरिने, महिला सदस्यलाई उद्यमशील बनाउन सहुलियत दरमा लगानी गरिने लगायतका कार्यक्रम रहेको उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरु प्रेमकृष्ण श्रेष्ठ, आनन्द डालमिया, अशोक धानुका, बुद्धिप्रसाद चापागाईं लगायतको आतिथ्य रहेको थियो । त्यस्तै संस्थाका उपाध्यक्ष ऐश्वर्या पाण्डे , सहसचिव तारा खतिवडा, सञ्चालक समिति सदस्हरु विज्ञान खड्का, किरण थापा, सुचित्रा मेचे, मदन विश्वकर्मा लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमालय प्रसाईंले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्