बिर्तामोड, मंसिर १७ । मंसिर १० गतेदेखि विश्वव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । नेपालमा पनि हिंसा अन्त्यको लागि विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

अभियानअन्तरगत बुधबार झापाको बिर्तामोडमा एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय बिर्तामोडको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै प्रदेश–१ की सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले प्रत्येक वर्ष अभियान सञ्चालन गरेपनि हिंसा अन्त्य हुन नसकेको बताइन् । हिंसा अन्त्यका लागि सम्पूर्ण सरोकारवाला लागिपर्नु पर्ने गजमेरले बताइन् ।
झापामा हिंसामा परेका नागरिकका लागि अल्पकालीन सेल्फ आइसोलेसन निर्माण गरिने गजमेरले जनाइन् । गजमेरले हिंसाका घटनामा न्यूनीकरणमा आफू कति प्रतिवद्ध छु भन्ने कुराको आत्मसमीक्षा हरेक नागरिकले गर्नुपर्ने जनाइन् । हिंसामा संलग्नलाई कारवाही गराउनका लागि कानून कार्यान्वयनमा सबैको सहयोगी भूमिका हुनुपर्ने हुनुपर्नेमा जोड दिंदै राज्यमन्त्री गजमेरले प्रदेश–१ मा घरेलु हिंसासम्बन्धी कानून बनिसकेको जानकारी दिंदै कानून कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको जनाइन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले हिंसाका घटनामा कानून कार्यान्वयनको प्रतिवद्धता जनाउँदै झापामा जिल्लामा चालू आर्थिक वर्षको बितेको चार महिनामा भएका हिंसाको अवस्थाबारे जानकारी गराएका थिए । चालू आर्थिक वर्ष २०७६–०७८ को चार महिनामा झापामा ५६ वटा हिंसाका घटना भएको रिजालले जनाए । जसमा ४३ वटा जबरजस्ती करणी, ९ वटा जबरजस्ती करणी उद्योग र ४ वटा बाल यौन दुरुपयोग–अप्राकृतिक मैथुनका घटना रहेका छन् । पछिल्लो समय शारीरिक, मानसिक, यौनजन्य हिंसा बढेको बताएका डिएसपी रिजालले अझैपनि कतिपय घटना समाजमा नै दवाव र प्रभावमा पारेर मिलापत्र हुने गरेको बताए । चालू आर्थिक वर्ष २०७६–०७८ को चार महिनामा दमक नगरपालिकामा सबैभन्दा धेरै २९ प्रतिशत हिंसा भएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रेम र विवाहको प्रलोभनमा पारेर, ललाइफकाई, बहुविवाह जस्ता हिंसाका घटना झापामा धेरै हुने गरेको प्रहरीले जनाएको छ । हिंसाको कारक तत्व लागुऔषध तथा मादक पदार्थ सेवनसमेत रहेको डिएसपी रिजाल बताउँछन् । बेरोजगारी र अशिक्षाले पनि अपराधजन्य घटना बढाएको उनले बताए ।
कार्यक्रममा सहभागीहरुले हिंसा अन्त्यका लागि रोजगारी, शिक्षा, हिंसाविरुद्ध कानूनी सचेतना, स्वाबलम्बी प्रकृतिका कार्यक्रम आवश्यक रहेको जोड दिए । साथै हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाका लागि सेफहाउस, कानून कार्यान्वयमा तदारुकता, समान ज्याला, साइबर क्राइमविरुद्ध सचेतना जगाउन जरुरी आंैल्याएका वक्ताहरुले हिंसाका स–साना स्वरुपलाई पनि कानून कार्यान्वयन इकाइ र सरोकारवालाहरुले नियाल्नुपर्ने बताएका छन् ।
एवीसी नेपाल झापाका संयोजक कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका तर्फबाट हर्कमाया विक, नेपाली कांग्रेसका तर्फबाट भुमादेवी घिमिरे, संघीय समाजवादी फोरका तर्फबाट संगीता रौनियार, राप्रपाका तर्फबाट रञ्जु प्याकुरेल, अधिकारकर्मी दिपक दास, प्रहरी निरीक्षक सपना खड्का, बिर्तामोड उद्योग वाणिज्य संघ विर्तामोडका महिला उपाध्यक्ष पार्वता खरेल विमली, सदस्य राधिका चुडाल, वीरता लेडी जेसीजका अध्यक्ष सुष्मा पौडेल, ट्रेड युनियन कांग्रेका केन्द्रीय सदस्य उर्मिला ढकाल, नारी कल्याण संघ झापाका अध्यक्ष प्रेमा भट्टराई, उमा शिवाकोटी, विमला भट्टराई, मेची महाकाली संयुक्त बुहारी आवाज झापा अध्यक्ष शिखा खड्का गणेश लगायतले हिंसा सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए ।
एवीसी नेपालका सचिव देविका निरौला बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उमा शिवाकोटीले स्वागत तथा औचित्यमाथि महिला सुरक्षा दवाव समूहका अध्यक्ष शारदा रिजालले प्रकाश पारेकी थिइन् ।