दमक, मंसिर १८ । झापा दमक २ निवासी तत्कालीन माओवादी जनयुद्धका योद्धा रमेश गुरागाईले युद्धकालका आफनो भोगाइहरुलाई समेटेर पुस्तक निकालेका छन् ।

माओवादी सशस्त्र जनयुद्ध र तत्कालीन शासकको गिरफ्तारीका क्रममा विद्रोहीहरुको भोगाइका अनुभवहरुलाई समेटेर उनले ‘कारावास’ नामक पुस्तक बजारमा ल्याएका हुन् ।

दमकमा बुधबार एक कार्यक्रमकाबीच पुस्तक कारावासको पूर्व सञ्चारमन्त्री तथा संघीय साँसद राम कार्की पार्थले लोकार्पण गरे । माओवादी अध्ययन केन्द्रले स्थानीय दमक बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरेको सार्वजनिकरण कार्यक्रममा नेता कार्कीले परिवर्तनका लागि देशमा भएका आन्दोलनहरुको उपलब्धि संस्थागत हुन नपाउने अवस्थाको सिर्जना हुन थालेको भन्दै सबैले आआफ्नो ठाउँबाट राजनीतिक नेतृत्वमाथि खबरदारी गरिनु आवश्यक भएको औल्याए ।
कार्कीले हरेक कालखण्डमा परिवर्तनका लागि निरन्तर संघर्षहरु भएपनि यसपछिको पुस्ताले पनि आन्दोलनमा समय खर्चिनुपर्ने वा बलिदानी दिनुपर्ने अवस्था आउनु दुखद हुने उल्लेख गरे ।
नेकपाका कार्यकर्ताहरुलाई कुनै गुट वा नेताको पछाडि दौडिन छोडेर वैचारिक र सैद्धान्तिक बहसमा केन्द्रित हँुदै सिर्जनात्मक काममा लाग्न नेता कार्कीले सुझाव दिए ।

सो अवसरमा समालोचक बाँस्कोटा धनञ्जय र हेमनाथ अधिकारीले प्रकाशित कृतिमाथि समिक्षात्मक टिप्पणी राखेका थिए भने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले लेखकको कृति यथार्थसंगै ऐतिहासिक घटनाक्रमको दस्तावेज भएको चर्चा गरिन् ।
सो पुस्तक माओवादी अध्ययन केन्द्र दमकले प्रकाशनमा ल्याएको हो । सुजल अफ्सेट प्रेस काठमाडौंको मुद्रण रहेको २०६ पृष्ठ लामो कारावास पुस्तकको बजार मूल्य ५०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्