बिर्तामोड, मंसिर १८ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको गाडी बिहीबार एक समूहले जलाउने प्रयास गरेका छन् । मे १ झ १७२ नंं को गाडी जलाउने प्रयास गरेको उपप्रमुख उप्रेतीले बताइन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन् । बिहीबार अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।
“म १ बजे चारआलीस्थित नेपाल आयल निगमको कार्यक्रममा सहभागी हुन चारआली आएँ, कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मलाई बाटोमा रहेका दुई जना युवाले गाडीबाट झर्न अनुरोध गरें ” उप्रेतीले भनिन्, “मैले केका लागि उत्रने भनेर सोध्दा उहाँहरुले आज नेविसंघले सरकारी गाडी जलाउने घोषणा गरेको छ भनेर पेट्रोल छर्कदैँ गर्दा मैले चालकलाई त्यहाँबाट गाडी भगाउन अनुरोध गरेसँगै हामी भाग्न सफल भयौँ ।” गाडीभित्र उपमेयर मीना र उनका चालक सवार थिए । आफूलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भएको भन्दै घटनाको अनुसन्धानका लागि प्रहरीलाई सहयोग गरिरहेको उपप्रमुखले प्रतिदिनलाई बताइन् । उनले घटनामा संलग्नहरुको पहिचान भइसकेको जानकारी दिइन् । यो समाचार तयार पार्नेबेलासम्म घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको छ । घटना कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले बताए । मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । धाइजन नजिकै मोटरसाइकलले गाडी छेकेर युवाद्वयले चक्कामा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । झापा प्रहरीलाई बिहीबार बिहानै सरकारी गाडीमाथि आक्रमण हुने पूर्वजानकारी भने आएको प्रवक्ता थापाले बताए । यसलगत्तै सरकारी कार्यालयलाई जानकारी भने गराएको थापा बताउँछन् ।
गाडी आगजनी गर्न प्रयास गर्ने समूहले आफूहरु नेविसंघको कार्यकर्ता भएको बताएको उपमेयर बताउँछिन् ।


प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्