शिवसताक्षी , मंसिर १८ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाउने तयारी सुरु भएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ लाई स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभूत अस्पताल’ नामकरण गरिएको वडाध्यक्ष खुलालले बताएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ । आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए् । नगरप्रमुख शेर्मा भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अस्पतालबाट हुने सेवा यहीँबाट सुरु हुन्छ ।’ बिरामीको अन्यत्र जानुपर्ने बाध्यता समेत हट्ने नगर प्रमुख शेर्माले बताए ।
शिवगञ्ज आधारभूत अस्पतालमा ३ जना मेडिकल अधिकृतसहित २७ जनाको दरबन्दी हुने छ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले यस अघि सर्वसाधारणलाई अस्पतालबाट प्रदान गरिने सेवा दिँदै आएको थियो । पछिल्ला दिनमा स्वास्थ्य केन्द्रमा कार्यरत एमविविएस डाक्टरको सरुवा भएपछि त्यो सेवा प्रभावित बनेको थियो । अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विगाह जग्गा प्रदान गरेपछि शिवगञ्जमा १५ शैय्याको आधारभूत अस्पताल भित्रिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयासपछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गराउन सफल भएको सुनाए ।‘शिवसताक्षी नगरलाई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्यका क्षेत्रमा नगरवासीको पहुँच विस्तार गर्न १५ शैय्याको अस्पताल विस्तार गर्न सबैको रचनात्मक सहयोग छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा प्रदान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनुका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ ।
शिवगञ्जमा आधारभूत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडासहित झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको केही वडाका बासिन्दा लाभान्वित हुने भएका छन् । बिहीबार शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख शेर्माले शिलान्यास गरे । वडाध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षता भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल ,नेपाली कांग्रेस महासमिति सदस्य भक्ति सिटौला, नेकपाका झापा सचिवालय सदस्य राधाकृष्ण खनाल, नेकपाका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुँगाना लगायतले विषम परिस्थितिमा पनि सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धि गरी शिवगञ्ज आधारभूत अस्पताल निर्माण गर्ने कार्यको प्रशंसा गरे ।

सामाजिक विकास समितिका संयोजक छबिलाल पाठकले स्वागत गरेको कार्यक्रम नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संचालन गरेकी थिइन्।
अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट लाग्ने भएको छ । त्यसमध्ये ३ करोड २३ लाख रुपैयाँ चालु वर्षमा खर्च हुने गरी निकासा भएको वडाध्यक्ष खुलालले बताए । उनका अनुसार २ वर्ष भित्रमा अस्पतालको भवन निर्माण हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्