माई इलाम , मंसिर १८ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर माई नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिने भएको छ ।

२९औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने सन्दर्भमा सम्पन्न अन्तरकृया कार्यक्रममा अपाङ्गता भएका विपन्न ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्ने निर्णय भएको हो ।

“कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने राष्ट्रिय मुल नाराका सम्पन्न अन्तरकृया कार्यक्रममा माईकी उपमेयर तथा अपाङ्गता समन्वय समितिकी संयोजक बिष्णुमाया आचार्यले सबै अपाङ्गता भएका ब्यक्तिहरुलाई नगरले सहयोग गर्ने बताइन् । उनले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रममार्फत माई नगरपालिकामा सहयोग भइरहेको बताउँदै अपाङ्गता भएका ब्यक्तिहरुको कुनै समस्या नरहने आश्वासन दिइन् । उपमेयर आचार्यले अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्वास्थ्य बिमा, सीप विकास तालिम, स्वास्थ्य उपचार सहयोग, सहायक सामग्री सहयोग, आयआर्जन कार्यक्रममा सहयोग, महिला अपाङ्गता भएका ब्यक्तिहरुका लागि निःशुल्क सेनिटरी प्याड सहयोग तथा शैक्षिक सामग्री सहयोगलगायतका कार्य गरिरहेको जानकारी दिइन् ।

नगरस्तरीय स्वावलम्वन समुहका पदाधिकारी, सिबिआरएफ, कर्मचारी र सरोकारवाला संस्थाका प्रतिनिधिलगायतको सहभागितामा अपाङ्गता भएका ब्यक्तिहरुको वर्तमान अबस्था, हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम सञ्चालनमार्फत अपाङ्गता भएका ब्यक्तिहरुको पुनरएकीकरणलगायतका बिषयमा अन्तरकृया भएको थियो । नगरस्तरीय अपाङ्गता स्वावलम्बन समुहका अध्यक्ष यदुनाथ दुलाल तथा माई नगरपालिकाका प्रशासन प्रमुख नबिनकुमार पौड्यालले सहजीकरण गरेको कार्यक्रमको समन्वय महिला शाखा प्रमुख जमुना पौड्याल र करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्