दमक,मंसिर १८ । झापाको दमकमा विद्यालयभन्दा धेरै मठमन्दिरहरु रहेको पाईएको छ । नगरपालिकाले २०७५ सालमा निकालेको नगर प्रोफाइलका अनुसार दमकमा ५९ वटा मठमन्दिर रहेका छन् ।

ती मठमन्दिर दमकका १० वटै वडामा रहेको छ । दमकमा यतिका संख्या भन्दा धेरै मठमन्दिरहरु हुन सक्ने अनुमान छ । तथ्यांक संकलनमा छुटेका र कतिपय हालसालै खोलिएका मठमन्दिरहरु हेर्ने हो भने दमकमा एक सयको हाराहारीमा मठमन्दिर रहेको अनुमान नगरपालिकाको पनि छ ।
नगरपालिकाका तथ्यांक शाखाका एक कर्मचारीले दमकमा ठूलो संख्यामा मठमन्दिरहरु थपिदै गएको बताए । शहरीभन्दा ग्रामीण क्षेत्रमा भने मन्दिर बनाउने क्रम बढ्दै गएको उनको भनाइ छ ।
त्यस्तै, दमकमा ३१ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन् । ती सामुदायिक विद्यालयभन्दा दोव्वर बढी मठमन्दिर रहेको पाईएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार दमकको वडा नम्बर ४ मा सबैभन्दा धेरै र सबैभन्दा थोरै दमक ७ मा भएको उल्लेख छ । दमक ४ मा ११ र दमक ७ मा एउटा मात्र मन्दिर रहेका छन् । त्यसैगरी वडा नम्बर १ मा ४, वडा नम्बर २ मा ७, वडा नम्बर ३ मा ७, वडा नम्बर ५ मा ५ , वडा नम्बर ६ मा ६ , वडा नम्बर ८ मा ३, वडा नम्बर ९ मा ८ र वडा नम्बर १० मा ६ वटा मठमन्दिर रहेको पाईएको छ । ती मठ्मन्दिरहरु अधिकांश हिन्दु धर्मावलम्बीका रहेका छन् ।
जसअनुसार हिन्दु धर्मका ४५ ,किरात धर्मावलम्बीका ४, क्रिष्चियनका २, बुद्ध धर्मावलम्बीका ३, धिमालका ४ , मस्जिद १ रहेका छन् । ती मठमन्दिरले सय विगाहबढी जमिन ओगटेको र मन्दिर थपिने क्रम समेत बढ्दै गएको छ । मठमन्दिरको जग्गाको विवरणका बारे नगरपालिकालाई समेत यकिन नभएको नगरपालिकाको तथ्यांक शाखाले जनाएको छ । नगरपालिकाले निकालेको प्रोफाइलमा समेत मन्दिरले भोगचलन गरेको जमिनको विवरण समावेश छैन ।

पहिला पहिला घरैमा पूजाआजाका लागि व्यक्तिगत प्रयोजनले मठमन्दिर बनाउने चलन रहेपनि पछिल्ला समय सार्वजनिक रुपमा मठमन्दिर बनाउन चासो बढ्दै गएपछि यस्ता मठमन्दिर बनाउने होडबाजी नै चल्दै आएको छ । हिन्दु धर्मावलम्बीहरु धेरै बसोवास रहेकाले पनि त्यस्ता धार्मिक लक्षित मठमन्दिरहरु बनाउने क्रम बढेको पाईएको छ ।
दमक बहुमुखी क्याम्पसका प्रमुख डाक्टर नेत्र बुढाथोकी विकासको सबैभन्दा आधारभूत अंगका रुपमा शिक्षा भएको मानिएपनि दमकमा भने विद्यालयभन्दा धेरै मठमन्दिरहरु हुनु विडम्बना नै रहेको बताउँछन् ।

मन्दिर बनाउने होडवाजीभन्दा शिक्षाको विकासमा टेवा पुग्ने काम गर्न सकेमात्र देशले समृद्ध प्राप्त गर्ने उनको भनाइ छ । उनले भने ,‘स्थानीय सरकारले पनि अस्वस्थ्य प्रतिष्पर्धा बन्दै गएको मठमन्दिर बनाउने चलनलाई निरुत्साहित गराउन पहल गर्नु अनिवार्य भईसकेको छ । ’
२०७५ को घरधुरी तथ्यांक अनुसार दमकमा ८६,८९० जनसंख्या रहेको छ । तीमध्ये सवैभन्दा धेरै ब्राह्मण २१ हजार २ सय ८४, क्षेत्री १९ हजार ८ सय १० रहेका छन् भने तेश्रोमा लिम्बुको जनसंख्या धेरै छ । लिम्बुको संख्या ८ हजार ३ सय ४७ उल्लेख छ । लिम्बुपछि राई ६ हजार ५ सय ८९,धिमाल ४ हजार ६ सय १३,नेवार ४ हजार १ सय ७२ ,कामी ३ हजार ३ सय ४१ भएको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्