सपना आचार्य,
माई इलाम , मंसिर २० । इलामको माई नगरपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले सहकारी संस्थाको भवन उद्घाटन गरेका हुन् ।

सहकारी संस्थाको नवनिर्मित भवन दुईतलाको रहेको छ । करिब ८० लाख रुपैयाँमा सो भवन निर्माण भएको हो । भवन उद्घाटनका क्रममा मन्त्री रानाले कृषि उत्पादनमा विचौलियाहरुको अन्त्य गर्न कृषि सहकारी संस्थाले कृषकले उत्पादन गरेका कृषि सामग्रीको व्यावसायिकरण र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । राज्यमन्त्री रानाले भूगोल, क्षेत्र र समुहका आधारमा स–साना सहकारीलाई एक हुन सुझाव दिए । इलामबाट प्रदेश साँसद समेत रहेका मन्त्री रानाले प्रदेश सरकारले कृषिमा यान्त्रिकरण गर्न सहयोग गर्ने आश्वासन दिए ।

झापाबाट इलाम, देउमाई, माङ्सेबुङ्ग, रवि–राँकेसम्मको सहज सडक सञ्जाल रहेको बताउँदै उनले मदन भण्डारी राजमार्ग समेतले छुने माई नगरपालिकाबाट कृषि उत्पादन, संकलन, बजारीकरण गर्न सबैमा आग्रह गरे । चुरे क्षेत्रमा रहेका व्यावसायिक खेतीका रुपमा सजिवन (मोरिङ्गो), फलफुल, जंगली बाँस तथा माछापालन उपयुक्त रहने राज्यमन्त्री रानाको सुझाव थियो ।
माई नगरपालिका–४ शुक्रबारे गैरीगाउँमा साना किसान महिला कृषि सहकारी संस्था महिला मात्रैले सञ्चालन गरेको हँुदा अन्य सहकारीभन्दा पारदर्शी, जवाफदेही र चलायमान रहने भन्दै त्यस्ता सहकारीमा भ्रष्टाचारको गुञ्जायस नरहने उनले प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममा इलामका प्रदेश साँसद काजीमान कागते, धिरेन्द्र शर्मा रमण, माईका मेयर दिपककुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, वडाध्यक्षहरु सूर्यप्रसाद दुलाल, रामप्रसाद सदेम्वा, भक्तबहादुर आङ्गदम्बे, खम्बसिंह लिम्बु, मुखराज आङ्गदम्बे, नेकपाका नेता ध्रुव श्रेष्ठ, बुद्धि खनाल, शिवलाल आचार्य, भक्तबहादुर लुङ्गेलीलगायतको सहभागिता रहेको थियो । यसैबीच प्रदेश सरकारको सहयोगमा माई–४ डाँडागाउँमा नसिब निर्माण सेवा इलामले निर्माण गर्दै गरेको चिस्यान केन्द्रको राज्यमन्त्री रानाले अनुगमन गरेका छन् । त्यस्तै शनिबार नै दानाबारी गाविसका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीका बुवा बमबहादुर अधिकारीको श्रद्धाञ्जली सभा र माई–१० लुम्बकमा नेकपाका नेता राम सञ्जेलको हजुरआमा कृष्णमाया सञ्जेलको श्रद्धाञ्जली सभामा समेत मन्त्री राना सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्