झापा , मंसिर २० । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार देशभर प्रदर्शन गरेको छ ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता लगायतका विषयमा केन्द्रित रहेर झापामा पनि राप्रपाले प्रदर्शन गरेको हो ।
विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकरभिट्टामा भेला भएर एकैसाथ बिर्तामोड आएको थियो । बिर्तामोडमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि आवश्यक रहेको जनाए । हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको जनाए । नेता लिङ्देनले संघीयता नेपालजस्तो सानो देशले धान्न नसक्ने बताउँदै राप्रपाको बलियो संगठन रहेको झापा जिल्लासँगै देशभर भइरहेको प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

देशलाई आवश्यक परेको खण्डमा सबै आन्दोलनको नेतृत्व गरेको राजधानीमा गएरै आफूहरु आन्दोलन गर्न तयार रहेको नेता लिङ्देनले बताए । शनिबार भएको प्रदर्शन एक शुरुवात मात्र रहेको उनको भनाई छ । “गणतन्त्र धर्म निरपेक्षता र संघीयताको पक्षमा उभिने नागरिकलाई भन्न चाहन्छु, गणतन्त्र, धर्म निरपेक्षता साधन नभएर साध्य मात्र हो” लिङ्देनले प्रश्न गरे “गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले पायो नागरिकले के पाए ?”
दुईतिहाइ मत पाएर देशका अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्रष्टाचारी र हत्याराको आरोप लगाएर बसेका छन्, यो कस्तो व्यवस्था हो ? लिङ्देनले प्रश्न गरे । गणतन्त्र धर्म निरपेक्षता र संघीयता झुटको खेती रहेको तर्क गर्दै त्यसका लागि सती नजान नागरिकलाई आग्रह गरे । “राजा आएपछि सबै जादुमय तरिकाले परिवर्तन हुने होइन तर, राजसंस्थाको पुनःस्र्थापना भएपछि देशमा शान्ति र स्थिरता कायम भने हुन्छ” लिङदेनले भने । देश ब्रिग्रिए शीर्ष नेताको केही नबिग्रने जिकिर गरेका नेता लिङ्देनले समग्र नागरिकको भविष्य बिग्रन नदिन राज्य व्यवस्था र नेतृत्व नै परिवर्तन गर्नुपर्ने तर्क गरे ।

राज्य व्यवस्थाले विकास मात्र अबरोध नगरेर देश नै नरहने अवस्था सिर्जना गरेको लिङदेन बताउँछन् । एउटा पार्टीको झगडामा विदेशी दूत नेपाल छिर्न थालेको जिकिर गरेका उनले देशभक्त नागरिकलाई स्वाभिमानी नेपाली भएर अघि बढ्न आग्रह गरे ।
मूलुक कोरोना महामारीमा रहेको बेलामा पनि राज्यले सिर्जना गरेको बाध्यकारी अवस्थाले प्रदर्शन गरी भाषण गर्नुपर्दा लज्जास्पद महसुस भएको बताउँदै लिङ्देनले कोरोना महामारीको रोकथाम र अन्त्यका लागि सरकार गम्भीर नभएको आरोप लगाए । “कुन दिन कोरोनाको विषयमा छलफल गर्न सरकारको बैठक बस्यो” उनले प्रश्न गरे, “नेताहरू आफ्नै जोडघटाउमा व्यस्त छन् ।” देश सञ्चालन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ । संविधान पुराण जस्तो फेर्न नमिल्ने विषय नभएको तर्क गर्दै प्रदेश सरकारको खारेजी र बलियो स्थानीय तह वर्तमान आवश्यकता रहेको जनाए । उनले देशमा भ्रष्टाचारी अझ मौलाएको बताउँदै ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु’ सरह रहेको तर्क गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्