हल्दिबारी , मंसिर २१ । हल्दिबारी गाउँपालिका वडा नं.२ को क्यानरी बोर्डिङ्ग स्कुलदेखि शम्भु चोक हुँदै वडा न. ५ को कञ्चनश्री बजारबाट हुलाकी जोड्ने शहीद मेम मार्गमा कालोपत्रे सडकको शिलान्यास गरिएको छ ।

९ .५ किलोमिटर सडकको प्रदेशसभाका पूर्णसिंह राजवंशी र बसन्त बाँनियाले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले सडकका लागि बजेट उपलब्ध गराएको हो ।

१७ करोड ,४५ लाख ४३ हजार ७१० रुपैयाँमा प्यासिफिक र एलाइट जेभी काठमाण्डौले सडक बनाउने ठेक्का लिएका हुन् । २०७७ असोज २१ गते ठेक्का संझौता गरिएको सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्ने छ । संझौता अनुसार कालोपत्रे र कल्भर्ट निर्माण हुने छ । पूर्वाधार विकास कार्यालय भद्रपुरका डिभिजन इन्जिनियर रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी , बसन्त बानियाँ , गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरी , ठेकेदारका तर्फबाट केदार गिरीलगायतले बोलेका थिए ।

बिर्तामोड नगरपालिका ३ को आदर्श चोकदेखि हल्दिबारीको सिमानासम्म कालोपत्रे भइसकेको थियो । हल्दिबारी २ को क्यानरी बोर्डिङ्ग स्कुलदेखि ग्राभेल बाटो नै रहेको थियो । उत्तरतर्फ बिर्तामोड– भद्रपुर सडक र दक्षिणतर्फ हुलाकी सडकलाई छुने गरी त्यस सडकमा कालोपत्रे भएपछि हल्दिबारीका बासिन्दालाई आवतजावतमा निकै सुविधा हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्