बिर्तामोड , मंसिर २१ । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको भद्रपुर माविको जग्गामा गैर नागरिकहरुले पनि अतिक्रमण गरी घर बनाएका छन् ।

नेपाली नागरिकसँगै गैर नागरिकहरुले पनि विद्यालयको सरकारी जग्गामा घर बनाएका हुन् । विद्यालयको जग्गा अतिक्रमण गरी आफूखुशी किनबेच भइरहेपछि विद्यालयले जग्गामा बस्नेहरुको लगत लिन थालेको छ । त्यसक्रममा गैर नागरिकहरुले पनि जग्गा अतिक्रमण गरेको पाइएको हो । विद्यालयले चार दिनअघिदेखि त्यस जग्गामा बस्नेहरुको तथ्यांक संकलन गर्न शुरु गरेको भद्रपुर माविका प्रधानाध्यापक कुलबहादुर गुरुङले बताए । लगत संकलन गर्नेक्रममा घर बनाएर बस्नेहरुको नागरिकता खोज्दा नभएको उनले बताए । ‘ जग्गामा बस्नेहरुलाई हामीले फारम भर्न लगाउने गरेका छौं ’ उनले भने ,‘ नागरिकता नहुनेले फारम भर्न मानिरहेका छैनन् ।’ भद्रपुर माविको जग्गा रहेको स्यालडाँगीमा ठूलो मुस्लिम बस्ती रहेको छ । त्यही बस्तीमा केही गैर नागरिकहरुले घर बनाएका छन् । त्यस सरकारी जग्गामा पक्की घरसँगै पसल , मदरसा पनि निर्माण गरिएको छ सरकारी जग्गा कब्जा गरी घर बनाउनेहरुको लगत लिन भद्रपुर माविले ६ जनाको टोली खटाएको छ । त्यस टोलीले हालसम्म १४० परिवारको लगत लिइसकेको प्रअ गुरुङले जानकारी दिए । यो साताभित्र सबैको विवरण आइसक्ने अनुमान गरिएको छ ।

लगत संकलनको फारम

साढे १७ विगाह जग्गाको धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि विचौलियाहरुले अतिक्रमण गरी आफूखुशी किनबेच गर्दै आएका छन् । धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि त्यस सरकारी जग्गामाथि भोगाधिकार अरुकै छ । एक ब्यक्तिबाट अर्कोलाई जग्गा किनबेच हुँदासमेत रोक्न सकिएको छैन । नम्बरी जग्गा सरह अनाधिकृत रुपमा कब्जा गरेर मनपरीतन्त्र चलाएर बसेकाहरुले बर्षौदेखि स्कूललाई ठेक्कासमेत बुझाएका छैनन् । पूर्वपश्चिम राजमार्गदेखि एक किलोमिटर दक्षिण र बिर्तामोड नगरपालिका कार्यालयदेखि एक किलोमिटर उत्तरपूर्व स्यालडाँगीमा भद्रपुर हाइस्कुलको नाममा सो जग्गा छ । स्यालडाँगी चौकदेखि दक्षिण विभिन्न पसलसहितको घना वस्ती स्कुलकै जग्गामा अबस्थित छ । त्यस्तै देवी क्याम्पसको पूर्वपट्टिको जग्गा पनि स्कुलकै नाममा रहेको देखिन्छ । गैरकानुनी र अनाधिकृत रुपमा विद्यालयको जग्गा मिलेमतोमा अतिक्रमण गरी बस्ती बसालिएको हो । झापा जिल्लाकै सबैभन्दा पुरानो विद्यालय भद्रपुर हाइस्कुल २००२ सालमा स्थापना भएको हो । २००२ देखि २०१० सालको अन्तरालमा पदमबहादुर गिरी र जहाजी राजवंशीले सो जग्गा स्कुललाई दान दिएका थिए । त्यस जग्गालाई १४ जना मोहीले ठेक्कामा कमाएका थिए । जुन धनीपूर्जाको लगतमा अझै हेर्न सकिन्छ । ती मोहीले मोहियानी हक पाइसकेर लगत कट्टा नगरेको बताइएको छ । मोही नभएका व्यक्तिहरुले राजनीतिक आडमा सरकारी जग्गामाथि कब्जा जमाउँदै आएका हुन् । विद्यालयले २०५२ सालमा लगत निकाल्दा त्यस जग्गामा ३४ परिवार बसेका थिए । २०६५ सालमा बढेर ३०५ पुग्यो । अहिले त्यस जग्गामा हजारबढी घर टहरा निर्माण भएका छन् ।
विद्यालयको जग्गा किनेर प्लटिङ
बिर्तामोड ६ का फणिन्द्र पन्धाकले विद्यालयको जग्गा किनेर प्लटिङ गरेका छन् । उनले २०६८ सालतिर १० लाख रुपैयाँमा १७ कठ्ठा जग्गा किनेका थिए । विद्यालयको नाममा धनीपूर्जा भएको सो जग्गा अनुशा गिरीबाट आफूले लिएको उनले बताए । ‘बैंकमा पैसा जम्मा गर्न लगाए’ उनले भने,‘ कागज पनि गरिदिएनन् ।’ पन्धाकले जग्गा लिएपछि प्लटिङ गरेका छन् । त्यस जग्गामा १५ भन्दा बढी परिवारले किनेर घर बनाएका छन् । भद्रपुर माविको नाममा रहेको जग्गा सम्बन्धित विद्यालयलाई नसोधी धेरैले धेरै पटक किनबेच गरिसकेका छन् । भर्खरै एकजनाले ५ लाख रुपैयाँ कठ्ठा विद्यालयको जग्गा किनेको एक स्थानीयले बताए । सरकारी जग्गामाथिको अतिक्रमणका बारेमा अख्तियारले छानविन थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्