बिर्तामोड , मंसिर २१ । झापा बिर्तामोडकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं २ की ४५ वर्षिया मन्जु मैनाली रहेकी छन् । उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राति १.३० बजे मृत्यु भएको हो । उनी मंसिर १८ गते धरान गएकी थिइन् । त्यहाँ पिसिआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही भर्ना गरिएको थियो । मृतकको लाशलाई धरानबाट ल्याएर कनकाई माईमा अन्त्येष्टि गरिएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा १३ पुगेको छ ।

त्यस्तै बाह्रदशी ५ का एक पुरुषलाई अन्त्येष्टि गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाह्रदशी ६ का ४० वर्षिय शंकर पण्डितको नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएको थियो । उनको लाशलाई परिवारले बिहीबार अन्त्येष्टि गरेका थिए । अन्त्येष्टि गरिसकेपछि उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको बाह्रदशी गाउँपालिकाका स्वास्थ्य शाखाका राम यादवले बताए । शुरुमा मेची अस्पतालमा भर्ना गरिएका पण्डितलाई पिसिआर गरी स्वास्थ्य अबस्था जटिल बनेपछि विराटनगर लगिएको थियो । विराटनगरमा लगेर नोवेलमा भर्ना गरेकै दिनको राति उनको मृत्यु भएको थियो । त्यसपछि परिवारले घरमा ल्याएर अन्त्येष्टि गरेको र अन्त्येष्टिपछि मेची अस्पतालको रिपोर्ट पोजिटिभ आएको यादवले जानकारी दिए । योसँगै बाह्रदशीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्