बिर्तामोड, मंसिर २२ । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।


हुलाकी सडकको कामबारे सोमबार प्रदेश– १का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन् । पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताए । चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी दिए । .उनले झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भईसकेको बताए । रंगेली र विराटनगरमा सडकमा केही समस्या रहेको बताउँदै उनले रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पुर्वपश्चिम जोड्नका लागि समस्या भएको जानकारी दिए ।


विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले जानकारी दिए । सामाजिक विकासमन्त्री घिमिरेले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताए । मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्