दमक, मंसिर २२ । झापाका माछा व्यापारीको चर्को ध्वनी प्रदुषणले जिल्लावासी प्रभावित भएका छन् ।

गाडीमार्फत माछा बिक्रीका लागि माइकिङ गरेर गरिदै आएको बजारीकरणले जिल्लावासी प्रभावित भएका हुन् । पछिल्लो समय माछा व्यापारीले गाडीमार्फत चोंक वजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढेको छ । गाडीमा माछा राखेर चर्को ध्वनी बजाएर वजारीकरण गर्दा ध्वनी प्रदुषण हुँदै आएको छ । ध्वनी प्रदुषणले गर्दा चोक बजारका बासिन्दाहरु बढी प्रभावित हुनुपरेको गुनासो छ ।
औषधी व्यवसायी संघ झापाका शाखाका अध्यक्ष गौतम गुप्ता माछा व्यापारीको चर्को ध्वनी प्रदुषणले हैरानी भएको बताउँछन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एकाविहानैदेखि साँझसम्म व्यापारका नाममा गरिने चर्को ध्वनीले हैरानी बनाएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो औंल्याउँछन् । उनले लेखेका छन् , –‘माछा बेच्नका लागि गरिने यस्तो प्रचारशैली सम्बन्धित निकायले तुरुन्त रोक लगाउनुपर्छ । ’

झापा बिर्तामोड २ को हेभन वाटर पार्क,बिर्तामोडकै रारा कृषि फार्म, हरियाली माछा फार्म,चुलाचुली १ को साम्दाङवा एग्रो लगायतका कृषि फार्महरुले गाडीमा बाजागाजा राखेर माछा बेच्दै आएका छन् । यस्ता फार्म हाउसले आफ्नै उत्पादनसंगै अन्य माछापालक किसानको माछा किनेर उपभोक्ताहरुलाई बिक्री गर्दै आएका छन् । गाडीमा राखेर गाउँगाउँमा डुलाउँदै माछा बेच्दा धेरै बिक्री हुने गरेका कारण पनि व्यापारीहरुले बाजागाजा बजाएर व्यापार गर्न आकर्षित भएका हुन् । तर, वाजागाजावाट निस्कने ध्वनी प्रदुषणको असरबारे भने व्यापारीहरुले रत्तिभर चासो राख्दैनन् ।
बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको हेभन वाटर पार्कबाट उत्पादित माछा बेच्दै आएका एक गाडीका विक्रेता चर्को ध्वनी प्रदुषण नभएको जिकीर गर्छन् । ती बिक्रेताले गाडी एकै ठाउँमा नबस्ने भएकाले बाजागाजाले असर नपार्ने बताए ।

हेभनले पूर्वमा संभवत सवैभन्दा धेरै माछा उत्पादन गर्दै आएको छ । हेभनले आफ्ना उत्पादनसंगै स्थानीय किसानको माछा खरिद गरी पूर्वमै बढी माछा बिक्री गर्दै आएको छ । हेभनले माछा बिक्रीका लागि बजारमा आधा दर्जनबढी साना तथा ठूला गाडी सञ्चालन गर्दै आएको छ । बजारमा हेभनका जस्तै कतिपयले त्यसैको सिको गर्दे धमाधम बजार खोज्न थालेपछि प्रचारशैलीमाथि सार्वजनिक रुपमा रोक लगाउन माग समेत वढ्दै गएको छ ।

सञ्चारकर्मी समेत रहेका उपभोक्ता हित संरक्षण मञ्च दमकका सचिव गोपाल झापाली माछा बजारमा गरिदै आएको वाजागाजासहितको प्रचारशैली असभ्य भएको वताउँछन् । ‘सबै माछा व्यापारीले यसरी नै बजार डुलाउँदै जाने हो भने के अवस्था होला ?’ उनले भने, –‘बजार खोज्ने शैलीलाई सच्याउनु पर्छ, अहिलेको जस्तो आतंक फैलाएर बजार प्रभावित गर्न पाईदैन । ’
सरकारले सवारी साधनहरुलाई समेत हर्न वजाउन निषेध गर्दै आएको अवस्थामा झापामा भने माछा व्यापारीले हर्नझंै चर्को बाजागाजा गरेर व्यापार गरिआउँदा समेत नियमकारी निकाय बेखबर छ । स्थानीय तह र प्रहरीले माछा व्यापारको यस्तो गलत शैली देखेपनि सार्वजनिक रुपमा रोकटोक गरेका छैनन् । प्रशासनका स्थानीय एक अधिकारी माछा व्यापारको यस्तो शैलीलाई रोक लगाउन आवश्यक भएको बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्