बिर्तामोड , मंसिर २२ । विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोड–४ ले ११ औ वार्षिक साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष नविन खरेल, उपाध्यक्ष यादव ओली, सचिव डिल्लीराम प्रसाई, सल्लाहकार गोपाल काफ्लेलगायतले सोमबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
२ हजार ८४ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष २०७६–७७ सम्ममा एक करोड ८३ लाख ९ सय रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा छ । गत वर्ष ९० लाख ६७ हजार ३०० रुपैयाँ शेयर पूँजी रहेको थियो । त्यस्तै संस्थाले स्वास्थ्य राहत कोषबाट ९ जना सदस्यलाई ५० हजार रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ । त्यसैगरी संस्थाले बचत खातालाई निरन्तरता दिने, बालबचत खातालाई व्यापक बनाउने, उपचार खर्चमा छुट दिने, कर्जा व्यवस्थापनमा कडाई गर्ने, पसल उपसमितिलाई थप जिम्मेवारी बनाउने, सदस्य सक्रियता कार्यक्रम ल्याउने , बचत प्रक्रियामा बृद्धि गर्ने , बचतलाई डिजिटलाइज गर्ने, एसएमएस प्रविधि शुरु गर्ने, घरेलु उत्पादनलाई प्रोत्साहन दिने , महिला सदस्यलाई हौसला दिने , एक ब्यक्ति एक सहकारी नीतिलाई अवलम्बन गर्ने , पसलमा पूँजी बृद्धि गर्ने , विराट सदस्य स्वास्थ्य राहत कोषलाई व्यापकता दिने , रक्तदान कार्यक्रमलाई निरन्तरता दिने , थम्ब हाजिरी सिस्टम लागू गर्ने ,शेयर वोनस वितरण गर्ने, विराट सदस्य स्वास्थ्य राहत कोषमा परिवर्तन गर्ने , रेमिट्यान्स सेवाको शुरुवात गर्नेलगायतका १९ वटा कार्यक्रम अघि सारेको छ ।
संस्थाको पुस १५ गते हुने साधारणसभा तथा पाँचौं अधिवेशनका लागि कोभिड–१९ लाई मध्यनजर गर्दै पूर्वतयारी गरेको अध्यक्ष खरेलले बताए । त्यस अवसरमा अध्यक्ष खरेलले स्व. माता नरमाया खरेलको स्मृतिमा ५० हजार रुपैयाँको शिक्षा कोष स्थापना गर्ने घोषणा गरे । आफ्नी श्रीमती उषा खरेल अध्यक्ष रहने कोषमा संस्थाका २ जना सदस्य रहने र यदि संस्था नरहे कोष नरहने उनले बताए । उक्त कोषको ब्याजबाट सदस्यका ५ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्