झापा , मंसिर २२ । झापाको दमकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

ती संक्रमितको होम आइसोलेसनमा गएराति २ बजे मृत्यु भएको हो । दमक वडा नं ९ का निरौला थरका ती बृद्धलाई मंसिर १९ गते संक्रमण पुष्टि भएको थियो । दमक नगरपालिकाले स्वाब संकलन गरी न्युरो हस्पिटल विराटनगरमा पिसिआर परीक्षण गराएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनले मृतकको अन्त्येष्टि परिवार आफैले गरेको जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ३३ र झापामा ११७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा झापाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६ जना महिला र १५ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २ महिला र २ पुरुष, मेचीनगरका ३ जना पुरुष, दमकका १ जना महिला र २ जना पुरुष, अर्जुनधारा नगरपालिका, झापा र बाह्रदशी गाउँपालिकाका समान १–१ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, भद्रपुर, कनकाई, गौरादह, बुद्धशान्ति र कचनकवलमा समान १–१ जना पुरुषमा पनि संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, पालिका नखुलेका २ जना पुरुषमा पनि संक्रमण भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार १८२ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ८६४ रहेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइसोलेसनमा उपचाररतको संख्या १ हजार २०१ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्