भद्रपुर मंसिर २४ । प्रदेश– १ सामाजिक विकास मन्त्रालयको टोलीले बालमैत्री नगरउन्मूख भद्रपुर नगरपालिकामा बालमैत्री अभियानसम्बन्धी भइरहेका क्रियाकलापको मंगलबार अनुगमन–गरेको छ ।


मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालको नेतृत्वमा आएको टोलीले बालमैत्री अभियानका क्रममा नगरपालिकाले चरणबद्ध रुपमा गरेका कार्यक्रमसम्बन्धी दस्तावेजहरुको अनुगमन–निरीक्षण गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । टोलीमा मन्त्रालयको बाल अधिकार स्रोत व्यक्ति सुमन अधिकारीलगायतको सहभागिता रहेको छ ।
यसैगरी जिल्ला समन्वय समितिकी उपपप्रमुख मीना पराजुलीको संयोजकत्वमा रहेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले पनि मंगलबार नै बालमैत्री अभियानको अनुगमन गरेको नगरका बालमैत्री अभियानका संयोजक टिकाराम पाण्डेले जानकारी दिए ।


०७४ सालको मध्यतिर शुरु भएको बालमैत्री अभियानका क्रममा नगरपालिकाले बालमैत्री सू्रचकहरुको अनुशरण गर्दै आएको छ भने नगरको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सहभागिता, बाल नगर सञ्जाल, वडास्तरीय बाल क्लव गठन, विद्यालयस्तरीय बाल क्लव गठन, बालमैत्री रणनीतिक योजना निर्माण, बालमैत्री क्रियाकलाप गर्दै आएको नगरको सामाजिक शाखा प्रमुख जीवनकला राउतले बताइन् ।


दुबै टोलीले बालमैत्री अभियानका वस्तुगत क्रियाकलापहरुको अनुगमन–निरीक्षण बुधबार (आज) गर्ने रहेको छ । अनुगमन टोलीले स्वीकृति दिएपछि एक समारोहका बीच भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गरिने जनाइएको छ । घोषणासँगै भद्रपुर प्रदेश –१ को पहिलो र देशकै पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्