भद्रपुर , मंसिर २५ । झापाका कानुन व्यवसायीहरुले वर्तमान सरकारको चरम लापर्वाहीका कारण दिनदिनै देशमा मानवअधिकार उल्लंघनका घटना बढ्दै गरेको बताएका छन् ।

७२ औं विश्व अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा जनसरोकार समिति नेपाल वार एशोसिएसन झापाद्वारा बिहीवार चन्द्रगढीमा आयोजित कार्यक्रममा सहभागी झापाली कानुन व्यवसायीहरुले त्यस्तो आरोप लगाएका हुन् । कोभिड –१९ मा मानव अधिकारको वर्तमान अवस्था र कानुन व्यवसायीहरुको भूमिका विषयक कार्यक्रममा सहभागी अधिकांश कानुन व्यवसायीले मानव अधिकार उल्लंघनकर्ताको संरक्षण गरेर राज्य आफैले अधिकार उल्लंघनलाई बढावा दिएको बताए । कार्यक्रममा बोल्दै नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेलले सरकारको गैरजिम्मेवारीपनका कारण कोभिडका विरामीहरुले सही उपचार पाउन नसकेको भन्दै वर्तमान सरकार आफैले हरेक नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । उनले सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि भयमुक्त वातावरण बनाउन नसकेको बताउँदै सरकार जनताप्रति जिम्मेवार बन्न नसकेकोसमेत आरोप लगाए ।

झापा वारका पूर्व अध्यक्ष गजेन्द्र आचार्यले पश्चिमी देशहरुमा समेत मानव अधिकार हनन् हुने गरेको बताउँदै राज्यसत्ताको कमजोरीका कारण अधिकार उल्लंघनका घटना हुने गरेको जिकिर गरे ।
उनले पूर्वीय संस्कारलाई भुलेकै कारण उल्लंघनका घट्ना हु्ने गरेको बताउँदै सरकारको कमजोरीका कारण नेपाली जनताले न्याय पाउन नसकेको दावी गरे ।
कार्यक्रममा झापा वारका अध्यक्ष लेखनाथ निरौला ,पूर्व अध्यक्षहरु अमृतकुमार बुढाथोकी , सुरज खत्री , कानुन व्यवसायीहरु बसन्त नेपाल ,हेमकला कट्टेललगायतले बोल्दै अधिकार उल्लंघन हुन नदिन सरकारलगायत नागरिक समाज सहितका सरोकारवाला निकायहरु प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
समितिकी संयोजक यज्ञलक्ष्मी चौंलागाईको अध्यक्षता तथा समिति सचिव चुडामणि पराजुलीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत ज्ञानेन्द्रबहादर कार्कीले गरेका थिए । कार्यक्रममा झापाका कानुन व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै ७२ औ अन्तर्र्रािष्ट्रय मानव अधिकार दिवस बिर्तामोडमा ‘नागरिकका आधारभूत मानव अधिकार र कोभिड–१९ ले पारेको प्रभाव’ विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । अधिकारका क्षेत्रमा क्रियाशील रक्षक , विद्यार्थीलगायत सरोकारवालाहरुलाई मानव अधिकारको इतिहास , सिद्धान्त, भइरहेको प्रयासका बारेमा अधिकारकर्मी विष्णु खरेल र दिपक दासले जानकारी दिएका थिए । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्कीले वर्तमान परिस्थितिमा कोभिड–१९ को महामारीले हरेक क्षेत्रलाई गाह्रो पारिरहेको बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी, एविसी नेपालकी कन्चना ढकाल सिटौला, एन प्याव्सन झापाका पूर्व अध्यक्ष सन्जिव राई, साना हात नेपालका जगत वाग्ले, अधिवक्ता कविता शर्मा, मन्जिला भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । सञ्जालका सचिव डा. रुपक खनालले सन्चालन गरेको कार्यक्रमलाई न्याय तथा विकासका लागि सामाजिक सञ्जालले सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्