बिर्तामोड , मंसिर २६ । गत वर्ष डेढ करोडभन्दा बढीको आफ्नै भवन निर्माण गरेको बिर्तामोड ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले अर्को भवन पनि बनाउने भएको छ ।

वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष शिवाकोटी , सचिव सिटौला र सल्लाहकार भीष्म उप्रेती

विराट बहुउद्देश्यीय सहकारी संस्थाले गत वर्ष करिव १ करोड ६५ लाखको लागतमा आफ्नै भवन निर्माण गरेको थियो । चारतले सोही भवनमा कारोबार संचालन गरिरहेको विराटले बिर्तामोड ४ मा अर्को भवन निर्माण गर्न लागेको हो । मुक्ति चोकबाट ५ सय मिटर दक्षिण पुरानो भद्रपुर रोडले छोएको ठाउँमा विराटले भवन निर्माण गर्नका लागि २ करोड ६९ लाख ५० हजार रुपैयाँमा १९.२५ धुर जग्गा खरिद गरेको संस्थाका अध्यक्ष मोहन शिवाकोटीले बताए ।

उनले त्यस जग्गामा आफ्नै भवन निर्माण गरी व्यावसायिक वित्तीय सेवा प्रवाह गर्ने लक्ष्य राखिएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् । संस्थाको आत्मनिर्भरताका लागि क्षमता र आबश्यकता अनुसार समयानुकूल कार्यालय संचालन तथा बैठक, गोष्ठी गर्न यथेष्ठ कोठासहितको आफ्नै स्वामित्वमा सो भवन बनाउने लक्ष्य रहेको अध्यक्ष शिवाकोटीले बताए ।

विराटले १५ औं वार्षिक साधारणसभाको प्रक्रिया आजदेखि शुरु गरेको हो । आगामी पुष ४ गते समापन हुनेगरी वार्षिक प्रतिवेदन सदस्यहरुलाई वितरण गर्न थालिएको संस्थाका सचिव रुद्रप्रसाद सिटौलाले बताए । वितरित प्रतिवेदनमाथि पुष २ र ३ गते सदस्यहरुले कार्यालयमा उपस्थित भई लिखित रुपमा सुझाव पेश गर्न सक्ने उनले बताए । नेपाल सरकार सहकारी विभागको सहकारी संस्थाको साधारणसभा संचालन निर्देशिकाअनुरुप विश्वव्यापी महामारी कोभिड–१९ लाई मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी साधारणसभा गर्न लागिएको सिटौलाले जानकारी दिए ।

२०६३ सालमा ५३ जनाले स्थापना गरेको विराटमा हाल १५६६ महिला र १२६४ पुरुष गरी २९०८ जना सदस्य रहेका छन् ।शेयर पूँजी ६ करोड , ७९ लाख ९४ हजार २ सय रुपैयाँ रहेको संस्थाको कर्जा २२ करोड , ५३ लाख ७६ हजार ५३० र बचत २६ करोड ६ लाख २४ हजार १७८ रुपैयाँ रहेको छ । कोरोना महामारीका बीच आफ्ना सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गरेको विराटले १५ लाख ३२ हजार ४९६ रुपैयाँ ब्याज छुट गरी सदस्यहरुलाई केही हदसम्म राहत प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । सदस्य काजकिरिया खर्च २० हजार रुपैयाँ,सदस्य परिवारका लागि एम्बुलेन्समा १० प्रतिशत छुटलगायतका सुविधा प्रदान गर्दै आएको विराटले शेयर सदस्यहरुको सुविधाका लागि सुलभ सहकारी पसल संचालन गर्ने योजनासमेत राखेको सचिव सिटौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्