दमक , मंसिर २६ । उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनमा स्थानीय तहको प्रमु्ख भूमिका रहने विज्ञ तथा जनप्रतिनिधिहरुले बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय समिति तथा दमक नगर समितिको व्यवस्थापनमा शुक्रबार दमकमा भएको अन्तरक्रियाका वक्ताले उपभोक्ता अधिकार सुनिश्चित गर्न प्रभावकारी कानूनको आवश्यकता रहेको पनि औंल्याए । कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्थानीय सरकार संवैधानिक अधिकारको उपयोग गर्दै आवश्यक कानून बनाउन तयार रहेको बताए । तर, कतिपय कानुन बनाउन संघ तथा प्रदेश सरकारबाट अविश्वास व्यक्त हुने भएकाले विश्वासको वातावरण बन्न जरुरी रहेको धारणा उनले राखे ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाले कतिपय स्थानीय तहले बजार व्यवस्थापन र उपभोक्ता अधिकार रक्षाका लागि कानून बनाउन पनि नसकिरहेको बताए । दमक नगरपालिकाले शुरुवाती समयमा नै यस सम्वन्धमा कानून बनाएको तर यसमा पनि सुधारको आवश्यकता भएको औंल्याए ।
कार्यक्रमको अध्यक्षता गरेका मञ्चका प्रदेश १ उपाध्यक्ष एवम् दमक नगरसमिति अध्यक्ष डाक्टर नविन चापागाईले कार्यक्रमहरुलाई औपचारिक भन्दा पनि उपलव्धिपूर्ण बनाउनु पर्ने धारणा राखे । यसका लागि हरेक औपचारिक कार्यक्रमहरुबाट साझा प्रतिवद्धता र धारणा आउन जरुरी रहेकोमा उनले जोड समेत दिए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख दिपक कोईरालाले सुरक्षित बजार र उपभोक्ता अधिकारको रक्षाका लागि उपभोक्ताहरु जागरुक हुनु पर्ने र यसका लागि राज्य एवम् समाजका सवै क्षेत्र पनि क्रियाशील हुनु पर्ने बताए । कार्यक्रममा दमक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले उपभोक्ता अधिकारको रक्षाका लागि भएका कानूनको कार्यान्वयनमा प्रहरीले सधैं सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा दमक नगरपालिकाका अन्य जनप्रतिनिधि, विभिन्न विषयगत कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको पनि सहभागिता थियो । द एशिया फाण्डेशनको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्ता अधिकारको रक्षा, कानून निर्माणमा सहयोग, बहस, पैरवी लगायतका कार्य गर्दै आएको केन्द्रीय उपाध्यक्ष सुवर्णप्रभा गुरागाँईले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्