राजगढ, मंसिर २८ । बाह्रदशी गाउँपालिकाका दुईवटा वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । बाह्रदशी गाउँपालिकाको –३ र १ को वडा कार्यालय भवनको एकैदिन शिलान्यास गरिएको हो ।

प्रदेश– १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले दुवै वडा कार्यालय भवनको शिलान्यास गरेका हुन ।यसक्रममा वडा नं ३ को वडा कार्यालय भवनको आज विहान मन्त्री कार्कीले राजगढ बजारदेखि पश्चिम शिलान्यास गरे । आर्थिक वर्ष २०७७—०७८ मा गाउँपालिकाबाट प्राप्त वडाको १ करोड १० लाख बजेटमध्येबाट २५ लाख रुपैयाँबाट कार्यालय भवन निर्माण थालिएको वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए ।


वडा कार्यालय भवनका लागि लखु राजवंशीले ३ कठ्ठा र जानकीदेवी कार्कीले २ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए । त्यस जग्गामा क्रमागत बजेट लगाएर वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने वडाध्यक्ष राजवंशीले बताए । शिलान्यासपछि ठेक्का प्रक्रिया शुरु गरिने उनले जनाए । त्यस्तै १ नं वडा कार्यालय भवनको पनि आजै मन्त्री कार्कीले शिलान्यास गरे । गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३८ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माण गरिने वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । भवनका लागि दुर्गावती राजवंशीले ४ कठ्ठा जग्गा निःशुल्क दान दिएकी थिइन् । मन्त्री कार्कीको आजै विद्यालय भवन उद्घाटनलगायतका कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्