बिर्तामोड, मंसिर २८ । सत्तासीन नेकपाभित्रको विवाद सतहमा छताछुल्ल भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा उनी इतर भेला भएको छ । पार्टीको आन्तरिक बहसलाई घनिभूत र पार्टी एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय भेला आइतबार भएको हो।

अनेरास्ववियु प्रदेश १ को ब्यानरमा भएको भेलामा नेताहरूले ओलीप्रति लक्षित गर्दै पार्टीमा व्यक्तिवाद हाबी भएको दाबी गरेका थिए । शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले अध्यक्ष ओली पक्षीय युवाको भेला सम्पन्न गरेपछि दमकमा ओली इतर समूहको भेला आयोजना गरिएको हो । यसले दुवै पक्ष आफ्नो शक्ति प्रदर्शनमा उत्रेको देखिन्छ ।
पार्टी केन्द्रमा शीर्ष नेताहरूबीच पार्टी सञ्चालनमा विधि, प्रक्रियालाई लिएर बहस चलिरहेका बेला तल्लो तहसम्म गुटगत भेला आयोजना गर्ने क्रम नेकपामा जारी छ । दमक भेला त्यसकै श्रृंखला हो । नेतृत्वमाथि दवाव सिर्जना गर्न भन्दै ओलीको गृहनगर दमक बहुमुखी क्याम्पसमा भेला भएर उनी इतर आफ्नो मोर्चा दह्रो भएको सन्देश दिए । भेलालाई प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङबो, प्रदेश सांसद झलकसिंह दर्लामी,अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, विद्यार्थी नेताहरू सुदेश पराजुली, वसिम आलमलगायतले सम्बोधन गरेका थिए । उनीहरूले अध्यक्ष ओलीले पार्टीलाई विधि र प्रक्रियाबाट बिमुख गराएको दाबी गर्दै पार्टीमा स्वेच्छाचारी प्रवृत्ति लादेको जिकिर गरे।

कमिटीगत पद्धति र विधि विपरीत आफूहरू जान नसक्ने अड्डी कसेका उनीहरूले सत्तामा सुण्डमुसुण्ड र भजन मण्डलीको जमात रहेको ठोकुवा गरे । प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीहरू शनिबारदेखि नै दमक आएका थिए। १ हजार भन्दाबढीको सहभागिता रहेको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेता कार्यकर्ता थिए । झापा अनेरास्ववियुका दुई छुट्टाछुट्टै कमिटी छन्। एउटाको नेतृत्व समर्पण खतिवडा र अर्काको नेतृत्व अनिल सुवेदीले गरिरहेका छन्। खतिवडा ओली र सुवेदी प्रचण्ड निकट हुन् ।
उता अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री बाँस्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध पत्रकारहरुको प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, ‘नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन् ।’
बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेट’ पनि एकता नै भएको दाबी गरिरहँदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका विद्यार्थी तथा भातृ संगठनले गुटगत रुपमा धमाधम अलगअलग कार्यक्रम गरिरहेका छन् । एक पक्षले अर्कोलाई ‘निषेध’ गरिएका यस्ता कार्यक्रममा सहभागी नेताहरुले पार्टी एक रहेको र नफुट्ने दाबी गर्न भने छाडेका छैनन् । कतिपयले यस्ता गुट भेलालाई ‘पार्टी फुटन् नभएर जुट्नका लागि दबाब’ दिन आयोजना गरिएको भन्ने गरेका छन् ।

नेता बाँस्कोटाले ओलीको बचाउ गर्दै, ‘हठात रुपमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हटाउने भन्ने कुरा नहुने बरु प्रधानमन्त्री छाड्न संसदीय अभ्यास अनि आम निर्वाचनमा विधि हो’ भनेका छन् । अध्यक्ष छाड्न महाधिवेशनबाट मात्र सक्ने र महाधिवेशन ४ महिनापछि हुने उनले बताएका छन् । अलग अलग कार्यक्रमबारे सोधिएको प्रश्नमा उनले ठूलो पार्टीमा कार्यक्रमहरु हुनु स्वाभाविक भएको बताए ।
शनिबार गछियाको सिग्देल प्रतिष्ठानको भवनमा राष्ट्रिय युवा संघको प्रदेशस्तरीय भेला भएको छ । तर, कार्यक्रममा ओली पक्षधर र उनलाई नेता मान्नेहरु मात्र सहभागी थिए । तर, त्योभन्दा फरक गुटका युवालाई निमन्त्रणा गरिएको थिएन । नेकपाकै अर्को गुट प्रचण्ड–नेपाल समूहका युवा नेताकार्यकर्ताको सहभागिताबिना गरिएको कार्यक्रममा एक हजारभन्दा धेरै सहभागी भएको युवा नेता भाष्कर खनालले जानकारी दिएका छन् । खनालले भने, ‘युवा साथीभाइहरुको निक्कै ठूलो उत्साह र सहभागिताबीच कार्यक्रम सम्पन्न भएको छ ।’ खनालका अनुसार धेरै ठाउँबाट मोटरसाइकल ¥यालीसहित युवा नेता तथा कार्यकर्ता गछिया चौक पुगेका थिए ।
झापा, मोरङ र सुनसरीका पालिकाहरुबाट भने युवाको मोटरसाइकल ¥यालीसमेत निस्किएको थियो । ‘एकपक्षीय सहभागिता नै गराइएको हो’ खनालले भने, ‘बर्चस्व राम्रो भएपनि केही हाम्रै साथी छुटेका छन् ।’ कार्यक्रममा युवा संघका सहसंयोजक रमेश पौडेल , मदन भण्डारी फाउन्डेसन प्रदेश –१ संयोजक गोपाल गुरागाईं, संघका पूर्वसचिव वचनबहादुर सिंह पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत, नेता रविन थापा, राजु कार्की, उर्मिला सुनार, रोशन बस्नेतलगायत सहभागी थिए । अनेरास्ववियू स्थायी कमिटी सदस्य भाष्कर खनालका अनुसार ‘पार्टी एकीकरण सम्बन्धमा दबाब समूह’ को नामबाट कार्यक्रम आयोजना गरिएको हो ।

नेकपाको केन्द्रको विवादको आगो तल प्रदेश र पालिकास्तरसम्म नै सल्किन पुगेको छ । अझ राजनीतिक रुपमा ओली पक्षकै बहुमत रहेको प्रदेश– १मा एकले अर्को पक्षलाई काउन्टर दिने राजनीतिक कार्यक्रम आयोजना हुन थालेका छन् । पहिले ओली पक्षले कार्यक्रम गर्ने र त्यसलाई लगत्तै प्रचण्ड–नेपाल पक्षले काउन्टर दिने गरेका हुन् । पार्टीको गुटमा मात्र नभएर गुटगत रुपमा पार्टीका भातृसंगठनको भेलासमेत क्रमशः सहर–सहरमा हुन थालेका छन् ।
प्रधानमन्त्री केपी ओली आफैं सहभागी भई केही दिनअघि शुरु भएको गुटको भर्चुअल भेला लगत्तै प्रचण्ड–नेपाल समूहले इटहरीमा भौतिक उपस्थितिसहितको राजनीतिक कार्यक्रम आयोजना गरिदियो । पूर्वमन्त्री तथा हालका संघीय सांसद शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा प्रचण्ड–नेपाल निकटका नेता कार्यकर्ता सहभागी भएको छलफलबाट स्थायी कमिटी र सचिवालय बैठकमा नेतालाई एकताको लागि दबाब दिन आयोजना गरिएको भनियो । नेकपाका एकजना प्रदेश सदस्यले पार्टी एकताकै लागि दबाब दिन त्यो भेला आयोजना गरिएको बताएका छन् । उनले भने, ‘पार्टी विधि र पद्धतिअनुसार चल्नु पर्छ भनेर कार्यक्रम गरिएको हो ।’

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए । त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो । भेलामा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई डाकिएको थिएन । अलग समूहको अलग्गै कार्यक्रम आयोजना गरिएपछि प्रचण्ड–नेपाल समूहका विद्यार्थीले विराटनगरमै कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । मंसिरभित्रै आयोजना गर्ने भनिएको कार्यक्रमको तयारी जुटिसकेको प्रचण्ड–ओली पक्षीय युवा नेताहरुको भनाइ छ ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य ईश्वरी आचार्यले कार्यक्रमको विषयमा छलफल भइरहेको बताएका छन् । प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले सामाजिक संजालमा समेत भेलाको तयारी भइरहेको जनाएका छन् । नेकपा मोरङका सचिव गणेश उप्रेतीले गछियामा भएको र अर्को विराटनगरमा हुने भनिएको भेलाबारे पार्टी कमिटीलाई कुनै औपचारिक रुपमा कुनै जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्