झापा , मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शन गर्दैछ ।


त्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिन लागेको हो। यसक्रममा झापामा पनि काँग्रेसले मोटरसाइकल र्याली र कोणसभा आयोजना गर्दैछ । दिउँसो १२ः३० बजे कनकाई नगरपालिकाबाट बिरोध र्याली सुरु भई बिर्तामोड ६ को सुगम पेट्रोल पम्पनजिक पुगेर कोणसभामा परिणत हुने कांग्रेस झापाले जनाएको छ ।

बिरोधसभालाई नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महत लगायतका केन्द्रीय नेताले संवोधन गर्ने कार्यक्रम रहेको छ । डा. महत हिजै बिर्तामोड आइपुगेका छन् ।
देशव्यापी आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्न जिल्लामा खटिएका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मोनिटरिङ’ गर्ने छन्। सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ। त्यस्तै उपसभापति विमलेन्द्र निधीले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन्।

२०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुद्ध गरेको यो पहिलो पटक आक्रामक आन्दोलन हो। ओली सरकारविरुद्ध पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेस पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्