बिर्तामोड , मंसिर २९ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन नहुँदा सरोकारवालाहरुले गुनासो गरेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न नौ वर्ष अगाडि स्थापित कोषले २०७४ मा पारित ऐन बमोजिम तयारी गरेको थियो । सामाजिक सुरक्षा कोषले गत वर्षको साउनदेखि नै निजीक्षेत्रका व्यवसाय एवम् संघसंस्थाका कर्मचारीहरूको निश्चित कोष मासिक रूपमा जम्मा गर्ने तयारी गरेपनि अहिलेसम्म कार्यान्वयन नहुँदा सरोकारवालाहरुले गुनासो गरेका हुन् । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) प्रदेश १ ले आज बिर्तामोडमा आयोजना गरेको व्यापारको क्षेत्रमा ट्रेड युनियनसम्बन्धी आधारभूत तालिमको उद्घाटनका अवसरमा बोल्दै सरोकारवालाहरुले सरकारको फितलोपनको खुलेर आलोचना गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल चेम्बर अफ कमर्शका १ नं प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेले सामाजिक सुरक्षा कोषको अभियान बीचैमा टुंगिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘प्रधानमन्त्री केपी ओलीले तामझामका साथ अभियानको घोषणा त गरे तर ,कार्यान्वयन भएन’उनले भने । अध्यक्ष घिमिरेले श्रम लगानी गर्नेहरुको भविष्य सुरक्षित हुनु पर्छ भन्दै त्यसको लागि व्यवसायीलाई नै सुरक्षित पार्नुपर्नेमा जोड दिए ।‘ श्रमिकहरुको पेशालाई जोगाउने हो भने व्यवसायीको व्यवसाय र लगानीलाई सुरक्षित गरिनु पर्छ’ उनले भने ,‘ ब्यक्तिले व्यवसाय गर्न नसक्दा खोलिएका व्यवसाय सरकारले टेकओभर गर्न सके श्रमिकहरुको रोजगारी गुम्दैन ।’ सामाजिक सुरक्षा कोषलाई असफल देखिएको स्वास्थ्य बीमासँग दाँज्दै घिमिरेले सरकार गंभीर नभएसम्म पेशागत सुरक्षा नहुने बताए ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले सामाजिक सुरक्षा कोषको घोषणालाई सबैभन्दा पहिला आफूहरुले नै स्वागत गरेको भन्दै नेपालमा कानून बनेर कार्यान्वयन नहुनु दुखलाग्दो भएको बताए । ‘ सामाजिक सुरक्षा कोषका बारेमा उद्योगी व्यवसायीलाई थाहा छ तर , उनीहरु लागू गर्न चाहदैनन् ’उनले भने ,‘ऐन कार्यान्वयन गराउने सरकारसँग पनि योजना छैन ।’कानून एकातिर भएपनि व्यवसायीसँग गैरकानुनीरुपमा सहमति गरेर श्रमिकहरु काम गर्न बाध्य भएको उनले बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले पनि बोलेका थिए । युनिकम नेपालका जिल्ला अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए । कार्यक्रममा युनिकम नेपालका प्रशिक्षण विभाग प्रमुख तिलकजंग खड्का कल्याणले सहजीकरण गरेका थिए । प्रशिक्षणमा ३५ जना व्यापार श्रमिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्