मेचीनगर , मंसिर २९ । मेचीनगरका ५ हजारभन्दा बढी जनसँख्या प्रत्यक्ष लाभान्वित हुने गरी निन्दा खोला सिंचाई योजना निर्माण हुँदैछ ।

सो योजनाको हिजो एक कार्यक्रमका बीच क्षेत्र नं १ का संघीय सांसद राम कार्कीले शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाको ५ करोड ३२ लाख ८५ हजार ८८९ रुपैयाँको लागतमा सो योजना निर्माण हुन लागेको हो । योजनाबाट १ हजार ७ घरधुरीका ५ हजार ३५ जना लाभान्वित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले बताए । उनका अनुसार त्यस योजनाबाट ४५० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्नेछ । गजुरमुखी सक्षम जेभी काठमाडौंले ठेक्का लिएको सो योजना २०७८ चैत ९ गते सम्पन्न गर्नुपर्ने संझौता रहेको छ । मेचीनगर ८ स्थित निन्दा खोलामा शिलान्यास गरिएको कार्यक्रममा संघीय साँसद कुमारी मेचे , प्रदेश साँसदहरु गोपाल बुढाथोकी , श्री मैनाली , राधा थापालगायत जनप्रतिनिधि , विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको डिभिजन इन्जिनियर राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्