बिर्तामोड , मंसिर २९ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीपछि नेपाली कांग्रेसले पनि देशव्यापी प्रदर्शन गरेको छ । त्यसक्रममा झापामा हजारौंले प्रदर्शनमा सहभागिता जनाएका छन् ।

दिउँसो १२ः३० बजे जिल्लाका सबै पालिकाबाट कनकाई नगरपालिकाको सुरुङ्गामा भेला भएर बिरोध प्रदर्शन सुरु भएको थियो । मोटरसाइकल र्यालीमा १० हजारको हराहारीमा सहभागिता रहेको थियो । र्याली बिर्तामोड– ६ को सुगम पेट्रोल पम्पनजिक पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकारविरुद्ध झापाको बिर्तामोडमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारले नागरिकलाई पूर्णरुपमा निराश बनाएको बताए । डा. महतले सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी गरे ।

ओली सरकारको पालामा भ्रष्टाचार बढेको भन्दै उनले ओलीले सत्ता हस्तान्तरण नगरेपछि पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल विरोधमा उत्रिएको बताए । कोरोना महामारीको उपचारमा खर्च गर्न नसक्ने सरकारले नेता तथा कार्यकर्तालाई करोडौँ रुपैयाँ छुट्याइरहेको उनले जिकिर गरे । ओली सरकार जनताको नभएर कम्युनिष्ट पार्टीको सरकार भएको तर्क गरे । कम्युनिष्ट पार्टीमा मतदान गर्ने नागरिकलाई धोका भएको उनको भनाई छ ।
छिमेकी देशबाट आउने डेलिकेशन देशको समस्यामा भन्दा पनि आफ्नो पक्षमा पार्नका लागि पहल गरिएको महतले आरोप लगाए । ‘कम्युनिष्टको कुरा बिक्यो, कांग्रेसको काम बिकेन’ भन्ने प्रसंगलाई झिक्दै नेता महतले कांग्रेसले आफूले गरेका कामको प्रचारसमेत गर्नुपर्ने खाँचो औल्याए । “नेपाली कांग्रेस हरायो, सकियो भन्ने भ्रम कतिलाई रहेको भन्दैँ” उनले भने, “कसैले तानेर र हाँगा काट्न खोजेर कांग्रेस सकिने होइन ।”

राजावादीको प्रदर्शनप्रति लक्षित गरी ‘संवैधानिक राजालाई कांग्रेसले मानेको स्मरण गर्दै महतले भने, “बहुजातीय नागरिक रहेको देशमा हिन्दु धर्मको वकालत गर्नु आवश्यक छैन ।” हिन्दुसँगै सबै धर्म नेपालको पहिचान भएको नेता महतको भनाई छ । कांग्रेसको सहभागिताबिना कुनै पनि परिवर्तन सम्भव नरहेको भन्दै यो शासन प्रणाली कुनै पनि हालतमा सरकारले परिवर्तन गर्न नसक्ने जनाए । आकाश पाताल जोडेर कुरा गर्नेको हातमा देश पुगेकोमा उनले दुःख व्यक्त गरे ।
त्यस्तै, पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार आपत्तिजनक रहेको जनाए । कांग्रेसलाई सुतेको बाघको संज्ञा दिएका बुढाथोकीले पौडेलमाथि गरेको दुव्र्यवहारले कांग्रेस जागेको दाबी गरे ।

मुलुकले ठोस संबिधान पाएपनि कम्युनिष्ट सरकारले संबिधानलाई कागजको खोष्टा बनाउने प्रयत्न गरेको जिकिर गरे । राजावादीको आन्दोलनलाई इंगित गर्दै नेता बुढाथोकीले ‘देश बचाउ’ भन्नेहरुलाई देश नमरेको, नेतृत्व मात्र खराब रहेको तर्क गरे । उनले राजावादीलाई कुनै पनि शक्तिको प्रयोग गरेर नेपालमा धार्मिक युद्ध गर्ने चेष्टा नगर्न चेतावनी दिए ।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले जनताले दिएको भोटको अपमान गर्दै नेकपाका दुई अध्यक्ष टक्करमा व्यस्त रहेको आरोप लगाइन् । दुईतिहाइ मत प्राप्त गरेको सरकारमा भ्रष्टचार र दलाली फस्टाएको उनको आरोप छ । कोरोना कहरको समयमा नागरिक अस्पतालमा छट्पटाइ रहेपनि सरकार गुठीको जग्गा कार्यकर्ताको हातमा पु¥याउन व्यस्त रहेको जनाइन् । आज भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्