राजगढ , मंसिर ३० । एशियाकै ठूलो दावी गरिएको झापा बाह्रदशीको स्ट्रबेरी खेती मासेर फलफूल लगाइदै छ ।

दुई विगाहमा खुम्चिएको बाह्रदशीको स्ट्रवेरी खेती

बाह्रदशी वडा नं –१ मा गत वर्ष ३२ विगाहमा स्ट्रबेरी लगाइएको थियो । जुन यस वर्ष दुई विगाहमा झरेको छ । बाँकी खाली ठाउँमा फलफूल खेती गरिने भएको हो । कोरोना संक्रमण र लकडाउनले यस वर्ष स्ट्रबेरी खेती चौपट बनेको व्यवस्थापक शरुद्र चौहानले बताए । उनले ३२ विगाहमध्ये दुई विगाहमा मात्र स्ट्रबेरी लगाएको बताउँदै बाँकी ठाउँमा फलफूल लगाइने जानकारी दिए । स्ट्रबेरी नलगाएको ठाउँमा अहिले झाडी बनेको छ । त्यस झाडीलाई जनवरी महिनामा फाडेर फेबु्रअरी महिनादेखि फलफूल लगाउन शुरु गरिने चौहानले बताए । त्यस ठाउँमा १२–१३ प्रकारका फलफूल लगाउने कम्पनीको योजना छ । त्यसमध्ये अम्बा लगाउने टुंगो भइसकेको बताउँदै चौहानले अन्य फलफूलका जात छान्न बाँकी रहेको जनाए ।

गोल्यन ग्रुपको गोल्यन एग्रो प्रालिले गत वर्ष बाह्रदशीमा व्यावसायिक रुपमा स्ट्रबेरी खेती गरेको थियो । कम्पनीले गत वर्ष राम्रो आम्दानी गरेपनि कोरोना महामारीका कारण यस वर्ष स्ट्रबेरी खेती चौपट बनेको हो । करिव दुई विगाह क्षेत्रफलमा मात्र यस वर्ष स्ट्रबेरी लगाएको कम्पनीले जनाएको छ । करिव तीन साताअघि करिव दुई विगाहमा ३० हजार बिरुवा रोपेको प्राविधिक इन्द्र विकले बताए । गत वर्ष ३८.५ एकड अर्थात करिब ३२ विगाहमा करिव ६ लाख बिरुवा रोपिएको थियो । गत वर्ष व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो भएको दावी गरिएको थियो ।

कम्पनीले यस वर्ष रोप्नका लागि भारतबाट ल्याएको स्ट्रबेरीका बिरुवा अधिकांश सुकेर नष्ट भएका छन् । भारतबाट ल्याइएका करिव ७० प्रतिशत बिरुवा मरेको त्यहाँ कार्यरत कर्मचारी राजेन्द्र भट्टले बताए । उनले पहिलो लटमा ल्याइएका ३० हजार बिरुवामध्ये एउटै पनि नबाँचेको जानकारी दिए । स्ट्रबेरीका लागि चिसो हावापानी उपयुक्त मानिन्छ । तर, गत वर्ष गोल्यन एग्रो प्रालिले जाडो यामको मौका छोपी पहिलो पटक झापामा स्ट्रबेरी लगाएर राम्रो आम्दानी लिन सफल भएको थियो । निकै चर्चा पाएको त्यस स्ट्रबेरी खेती हेर्न टाढा टाढाका मानिसहरु आएका थिए । उत्पादनसँगै स्ट्रबेरीले बजार पनि राम्रो पाएको थियो ।

यस वर्ष भारतबाट झिकाइएका पहिलो लटको ३० हजार बिरुवा एउटै पनि नबाँचेको व्यवस्थापक चौहानले बताए । उनले धेरै दिनसम्म बिरुवा भन्सारमा अड्किनु , अर्गानिक बिरुवामा विभिन्न रोग किरा लाग्नाले पनि यस वर्ष स्ट्रबेरी खेती गर्न नसकिएको बताए । रोपिएको दुई विगाह क्षेत्रफलमा पनि आधा बिरुवा मरिसकेका छन् । ‘विषादीरहित खेती गर्दा रोग किराको समस्या ज्यादा हुन्छ ’ उनले भने ,‘ तर पनि हामी झापाका पारखीहरुलाई स्ट्रबेरी खानबाट निराश पार्ने छैनौं ।’
पहिलो पटक तराईमा स्ट्रबेरी खेती गर्दा गत वर्ष यो सिजनमा बाह्रदशीमा हेर्नेहरुको घुइचो लागेको थियो । यस वर्ष भने स्ट्रबेरी लगाइएको ठाउँ उजाड बनेको छ । अवलोकन गर्ने दर्शकसँगै काम गर्ने मजदुर पनि घटेका छन् । स्ट्रबेरी खेती नभएपछि स्थानीयको रोजगारीसमेत गुमेको कर्मचारी भट्टले बताए । गत वर्ष ६५ जना स्थानीयले दैनिक रोजगारी पाएका थिए । पुरुषले ६ सय र महिलाले ५ सय रुपैयाँको दरले हाजिरा पाउने गरेका थिए । ‘यस वर्ष आबश्यकता अनुसार कहिले एक जना त कहिले पाँच जनालाई मात्र काममा लगाउने गरेका छौं’ भट्टले भने । गत वर्ष कम्पनीले स्ट्रवेरीसँगै स्वीटकर्न , काक्रा र खरबुजाको खेती पनि लगाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्