बिर्तामोड , पुष ३ । सुख्खायाम शुरु भएसँगै आगलागीका घटनामा बृद्धि भएको छ । हिजो एकैदिन झापाका तीन ठाउँमा आगलागी भएको हो ।

बिर्तामोडको वडा नं २ , ३ र गौरादह ४ मा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ । हिजो दिउँसो ४ बजे गौरादह ४ बस्ने अग्निधर धमलाको ग्वाली घरमा खोले पकाउने क्रममा आगो सल्केर आगलागी भएको थियो । आगलागीबाट ग्वाली घर , सुत्ने भुइतलाको सेन्टीबेरा घर ,अन्नपात , लत्ताकपडा , काठपात , भाडावर्तन, ५० हजार नगद र सुनचाँदी गरी ६ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गौरादह नगरपालिकाबाट गएको दमकल , महारानीझोडाबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा करिव एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीमा परी एउटा बाख्रा जलेर मरेको छ ।

त्यस्तै हिजो साँझ बिर्तामोड २ का खड्गप्रसाद मिश्रको धानको कुन्युमा आगलागी भएको छ । आगलागीबाट उनको डेढ विगाह खेतको धान जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा लिन बिर्तामोड र भद्रपुरका दमकल खटिएका थिए ।

त्यस्तै हिजै बिहान बिर्तामोड ३ का श्रीप्रसाद राजवंशीको डेढ विगाह खेतको पराल जलेर नष्ट भएको छ । ती दुवै ठाउँमा अकस्मात आगलागी भएको जनाइएको छ । त्यसको अघिल्लो दिन मेचीनगर ७ का गोविन्द राजवंशीको समेत पराल जलेर नष्ट भएको थियो । केही दिनयता धान र परालमा आगलागी हुने क्रम बढेको बिर्तामोड नगरपालिकाका बारुणयन्त्र कार्यालयका इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्