झापा, पुष ३ । सत्तारुढ नेकपाभित्र वैचारिक समूह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपाभित्र विभिन्न प्रतिष्ठान तथा फाउण्डेशनहरुको नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णयविपरित धमाधम गुट उपगुटका भेला गरी समूह वनाउने क्रम बढेको हो ।

पछिल्ला दिनमा दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो भने हालै मदन भण्डारी स्पोर्टस एकाडमी गठन गरिएको छ ।
सोलगत्तै आज बिर्तामोडमा भएको पार्टी कार्यकर्ताहरुको भेलाले मणि भण्डारीको अध्यक्षतामा भानु दंगाल सचिव रहेको ८५ सदस्यीय पुष्पलाल मित्रता केन्द्र झापा गठन गरिएको छ । अध्यक्ष भण्डारीका अनुसार जिल्ला समितिको आगामी बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने तथा जिम्मेवारी बाँडफाँड गर्दै पुष्पलालको विचारलाई कार्यकर्ताहरुमाझ प्रवाह गर्ने बिषयमा निर्णय लिनेछ । पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठको विचारलाई अघि बढाउन केन्द्र गठनको मूल उद्धेश्य भएको उनले बताए । उनले पार्टीभित्र पुष्पलालको विचारलाई अघि बढाउन र यसमा नेकपाकै कार्यकर्ताहरु आवद्ध हुनु स्वाभाविक भएको प्रतिक्रिया दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुष्पलाल मित्रता केन्द्रका महासचिव तथा नेकपाका केन्द्रीय सदस्य रबिन कोईरालाले पार्टीलाई विधि र बिधान बमोजिम चलाउने कुराको खबरदारीको लागि समिति गठन गरिएको बताए । कोईरालाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी रुपमा विधिविपरित पार्टी र सरकार चलाएकोले समस्या बढेको आरोप लगाए । नेता कोईरालाले केन्द्र गठनको मूल उद्धेश्य पार्टीभित्र पुष्पलालको विचारलाई अघि बढाउने भएकोले तमाम नेकपाका कार्यकर्ताहरुलाई आवद्ध हुनु आव्हान समेत गरे ।

ओलीले एक्लौटी रुपमा सरकार सञ्चालन गरेको र पार्टीको विधि प्रकृयालाई बेवास्ता गरिरहेको भन्ने चर्को आरोपका बीच जिल्ला तहमा नेताकार्यकर्ताहरु पनि समुह–समुहमा बाँडिएका हुन् । पार्टी अध्यक्ष ओलीले पार्टी कमिटीका निर्णयहरुलाई वेवास्ता गर्दै अघि बढेको निष्कर्ष सो समुहले निकालेको छ । ओलीलाई शैली सच्याएर अघि बढन दबाब दिने उद्धेश्यले पनि सो समुह ओलीको गृह जिल्ला झापामा सक्रिय भएको बताइएको छ । यसअघि सो पार्टीसम्बद्ध युवा विद्यार्थीहरुका पनि अलग–अलग समूहले पूर्वमा आआफना समर्थकहरुको भेला गरेर गुटगत अभ्यासको शुरुवात गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्