बिर्तामोड, पुष ३ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिक साधारणसभाको अघिल्लो दिन आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाले आज कार्यालय परिसरमा पत्रकार भेटघाटको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७६–०७७ को वित्तीय अवस्थाका बारेमा जानकारी दिए । उनले कोरोना भाइरसको महामारीका कारण संस्थाले लिएको लक्ष्य पूर्णरुपमा प्राप्त गर्न नसके पनि निराशाजनक नभएको बताए । संस्थाले साढे ७ करोड नाफा कमाउने लक्ष्य लिएकोमा ५ करोड ३१ लाख ५ हजार ३८५ रुपैयाँ नाफा कमाउन सफल भएको बताए । कोरोनाको संकटका बेला नाफा आर्जन, सदस्य विस्तार, लगानी बढाउनेभन्दा पनि सदस्यको पिरमर्कामा संस्था केन्द्रित भएको उनको भनाइ छ ।
संस्थाले चैतदेखि असार मसान्तसम्ममा ३५ लाख४३ हजार ७३१ रुपैयाँ ब्याज छुट गरेको छ भने लकडाउनका कारण सामान्य आयआर्जन गर्ने र दैनिक मजदुरी गर्ने सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म तीन महिना निब्र्याजी ऋण दिएको थियो । त्यस्तै, १० हजारसम्म १० प्रतिशत ब्याजदरमा कर्जा सापटी उपलब्ध गराएको संस्थाले जनाएको छ । सदस्यले तिर्नुपर्ने ऋणको पुस मसान्तसम्ममा कुनै पनि हर्जना नलिने र सदस्यले क्षमताअनुसार किस्ता क्रमशः तिर्न सक्ने संस्थाले जनाएको छ ।
स्थानीय पालिकाहरुले स्थापना गरेको कोरोना राहत कोषमा ८ लाख रुपैयाँ दिएको संस्थाले झापामा जनस्तरबाट स्थापना गरिएको पिसिआर ल्याबका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको छ । संस्थाले आव २०७६–०७७ मा सदस्यलाई ३३ लाख २३ हजार ५६३ रुपैयाँ उपचार खर्च, २३ लाख ३४ हजार २२४ रुपैयाँ ऋण मिनाह र ३१ लाख १९ हजार ८०० रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।
कोरानाका कारण नयाँ कार्यक्रम गर्न र ल्याउन नसकिए पनि पुरानालाई प्रबद्र्धन गर्ने संस्थाको योजना छ । संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा १५ प्रतिशतसम्म ब्याज लिने, युवा उद्यमशील कर्जा १२ प्रतिशतमा लगानी गर्ने, स्थानीय तहसँगको सहकार्यमा उत्पादनमूलक र स्वरोगारमुखी कार्यक्रम सञ्चालन गर्ने, विशिष्टीकृत सहकारीमा लगानी गर्नेलगायतका कार्यक्रम अघि सारेको छ ।
आव २०७६–०७७ मा सदस्यलाई २ अर्बबढी लगानी गरेको छ । ३३ हजार ९५९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २८ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ रहेको छ । संस्थाले गत आवमा तीन वटा सहकारी संस्थासँग एकीकरण गरेको कार्यक्रममा जानकारी दिइयो । संस्थाको भोलि वार्षिक साधारणसभा हुने भएको छ । जसको संघीय सांसद पवित्रा निरौला खरेलले उद्घाटन गनेृ कार्यक्रम छ । कोरोना संक्रमणका कारण क्षेत्रगत प्रतिनिधिलाइृ मात्र साधारणसभामा उपस्थित गराइने जनाइएको छ ।



