अर्जुनधारा ,पुष ३ । झापाको अर्जुनधारामा सम्बन्धित निकायको अनुमतिविना नै विद्यालयहरु सञ्चालन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबाट कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई सुम्पिएको छ ।तर, अर्जुनधारा नगरक्षेत्रमा रहेका संस्थागत विद्यालयले स्थानीय सरकार र मन्त्रिपरिषद्को निर्णयलाई लत्याउँदै आफूखुसी विद्यालय सञ्चालन गरिरहेका छन् ।

नियमअनुसार नगर शिक्षा युवा तथा खेलकुद शाखामा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ बमोजिम निवेदन पेश गर्नुपर्ने हुन्छ । निवेदनका आधारमा शाखाले अनुमति दिएपछि मात्र विद्यालय सञ्चालन गर्नुपर्नेमा सञ्चालनसम्बन्धी निर्णय हुनुअघि नै उनीहरुले आफूखुसी विद्यालय सञ्चालन गरेका हुन् ।विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएसँगै मंसिर २२ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय त भएको छ । तर, नगर प्रमुखबाट प्रमाणिकरण हुन बाँकी रहेको अवस्थामा अनुमति नलिई विद्यालय सञ्चालन गर्नु नीति विपरीत भएको शाखा प्रमुख तोयानाथ रेग्मीले बताउँछन् ।‘निर्णय प्रमाणिकरणपछि विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालनको अनुमति दिइनेछ’, उनले भने । अर्जुनधाराका अधिकांश संस्थागत विद्यालयले असोज दोस्रो सातादेखि केही दिन विद्यालय सञ्चालन गरेका थिए । तर, कोरोना भाइरसको संक्रमण बढेपछि फेरि बन्द गरिएको थियो । कात्तिक महिनामा चाडपर्वका बेला विद्यालय बन्द भएका थिए । मंसिर लागेपछि नियमित विद्यालय सञ्चालन गरिए पनि केही अभिभावकले जोखिम नमोल्ने भन्दै आफ्ना बालबालिकालाई विद्यालय पठाएका थिएनन् ।हालसम्म जम्मा २९ वटा संस्थागत विद्यालयमध्ये ७ वटा र २८ वटा सामुदायिक विद्यालयमध्ये ९ वटा विद्यालय गरी १६ वटा विद्यालयले मात्र उक्त कार्यढाँचा बमोजिमको निवेदन पेश गरेको शाखाको तथ्याङ्क छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्