बिर्तामोड, पुष ४ । कोरोना संक्रमणका बावजुद गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ ले आम्दानीमा बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा ४९ लाख १९ हजार ३१८ रुपैयाँ आम्दानी गरेको संस्थाले आव २०७६–०७७ मा ६० लाख ४६ हजार ८२६ रुपैयाँ आम्दानी गर्न सफल भएको हो । संस्थाले सम्पूर्ण खर्च काटेर ७ लाख ९२ हजार २५८ रुपैयाँ नाफा कमाएको अध्यक्ष लवकुमार चौधरीले बताए । आजदेखि शुरु भएको संस्थाको ११ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले आगामी आवमा अझ नाफा कमाउनेतर्फ संस्थाको प्रयत्न रहने जानकारी दिए ।

२०६६ सालमा ७ लाख ७५ हजारबाट स्थापना भएको संस्थाको शेयर पूँजी हाल ८९ लाख ९२ हजार १६१ रुपैयाँ रहेको छ । त्यस्तै ३४ जना शेयर सदस्यबाट संस्थामा हाल ५१७ महिला र ८८० पुरुष गरी १४०१ जना शेयर सदस्य पुगेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ झापा अध्यक्ष तथा केन्द्रीय सदस्य घनश्याम अधिकारीले साधारणसभाको उद्घाटन गरे । उनले संस्थालाई व्यावसायिक योजना बनाएर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा असल बचतकर्ताको रुपमा स्वेच्छा खड्का , कृष्णप्रसाद कँडेल , मोहनप्रसाद राजवंशी र केशवकुमार यादव , बाल बचततर्फ आकाश चौधरी , असल ऋणीमा भीम विश्वकर्मा , गजाधरप्रसाद शाह र सिताराम पौडेललाई पुरस्कृत गरिएको छ । त्यस्तै प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र समाजसेवी दुनसरी चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा लेखा प्रतिवेदन लेखा संयोजक नथुनीप्रसाद शाहले प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष युवराज विमलीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , कार्यपालिका सदस्य सुरेन राजवंशी , संस्थाका पूर्व सचिव तेजनारायण चौधरी , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , संस्थापक शेयर सदस्य पार्वता गिरीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन मीरा खड्काले गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष स्व. काशीलाल चौधरीको संझना गर्दै उनको तस्वीरमा माल्यार्पण गरिएको थियो । साधारणसभा भोलि समापन हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्