सपना दहाल,
माई । इलामको माई नगरपालिकामा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस एक कार्यक्रमका बीच मनाईएको छ ।

माई नगरपालिका, युवा सशक्तिकरण सञ्जाल माई र मानव अधिकार मञ्च इलामको संयुक्त आयोजनामा सामाजिक रुपान्तरणका लागि युवा भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माईका नगर प्रमुख दिपककुमार थेबेले युवाहरुलाई राष्ट्रमै रोजगारी प्राप्त गर्ने तथा आधुनिक कृषि प्रणालीमा समाहित गर्ने वातावरण बनाउन पहल गरिने बताए । यदि बिदेश जानुपर्ने भएमा आधारभूत मापदण्डको जानकारी लिई जान सबै कामदारलाई सुझाव दिए । बैदेशिक रोजगारीबाट राष्ट्रलाई ठूलो रेमिट्यान्स पठाउने आप्रवासी कामदारको सुरक्षाका लागि रोजगारीमा जानुपूर्व आधारभूत जानकारी लिन उनले आग्रह गरे ।

त्यस्तै उपप्रमुख बिष्णुमाया आचार्यले युवा सशक्तिकरणको संयोजनमा सञ्चालित कार्यक्रमले युवालक्षित कार्यहरुलाई प्रभावकारी बनाउन सफल भएको बताइन् । उनले बैदेशिक रोजगारीमा जाँदा काम गर्ने मुलुकको आधारभूत चालचलन, भाषा, काम तथा भूगोलका बारेमा थाहा पाउनुपर्ने बताइन् ।
आप्रवासी कामदारहरुको जीविकोपार्जनको लागि सुरक्षित आप्रवासन तथा स्वःउद्यमशिलतासम्बन्धी युवा सशक्तिकरण समुहको क्षमता विकास तथा परिचालन कार्यक्रम सञ्चालनमा रहेको छ । मानब बेचबिखनविरुद्ध अभियानमार्फत दिवस मनाईएको मानव अधिकार मञ्च नेपाल सुरक्षित आप्रवास कार्यक्रम माईका संयोजक निरुता थापाले जानकारी दिइन् । कार्यक्रममा साउदीमा रोजगारीका सिलसिलामा आजीवन कारावास सुनाएर प्रेम राई बचाउ अभियानमार्फत ९५ लाख नेपाली रुपैयाँ जरिवाना बुझाएर नेपाल आएका माई–४ का प्रेम राईले अनुभूति प्रस्तुत गरेका थिए ।

युवा सशक्तिकरण सञ्जाल माईका अध्यक्ष दिपेन्द्र सुव्वा संगमको अध्यक्षता, माईका नगर प्रमुख थेबेको प्रमुख आतिथ्यता, उपप्रमुख आचार्यको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष मुखराज आङ्गदम्बे, नेकपा माईका अध्यक्ष धनबहादुर लिम्बु, नगर खेलकुद समितिका अध्यक्ष अनिल तामाङलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्