बिर्तामोड ,पुष ६ । बिर्तामोडका रेलवे प्रभावितहरुले आफ्नो जग्गाको मूल्य ५ करोड प्रतिकठ्ठासम्म दावी गरेका छन् ।



रेल विभागले स्थानीय पालिका र वडा कार्यालयलाई चलनचल्तीको मूल्य पठाउन परिपत्र गरेपछि बिर्तामोड ३ नं वडा कार्यालयले चलनचल्ती मूल्यको लगत संकलन गरेको हो । त्यसक्रममा बिर्तामोडका रेलवे प्रभावितहरुले आफ्नो जग्गाको चलनचल्तीको मूल्य कठ्ठाको १ करोडदेखि ५ करोडसम्म दावी गरेका छन् । बिर्तामोडको ३ नं वडा कार्यालयले वडा सदस्य पूर्ण राजवंशीको अध्यक्षतामा ३ सदस्यीय मूल्यांकन समिति गठन गरी चलनचल्ती मूल्यको लगत लिएको हो । बिर्तामोड ३ का २२ जना रेलवे प्रभावित र छरछिमेकहरुहरुसँग भेटेर रेलको लिकमा पर्ने उनीहरुको जग्गाको खण्ड–खण्ड हेरेर लगत लिइएको वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले आफ्नो रोहवरमा मूल्यांकन समितिले जग्गाको मूल्यांकन गरेको जानकारी दिए । बिर्तामोड ३ को २ सय ७१ वटा कित्ता रेलवेको लाइनले भेट्ने देखिन्छ । ती सबै कित्ताको मूल्य लगत लिने काम सकिएको बताउँदै वडा सचिव भीम अधिकारीले वडा समितिको बैठकमा छलफल गरेर त्यसलाई अन्तिम रुप दिने र रेल विभागलाई पठाउने जानकारी दिए । झापामा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा मुआब्जा निर्धारण समिति बनेको छ । स्थानीय पालिकाहरुले चलनचल्तीको मूल्य रेल विभागलाई पठाइसकेपछि मुआब्जा निर्धारण समितिले चलनचल्तीको मोल, सरकारी दरभाउ र वित्तीय संस्थाबाट ऋण लिदाखेरिको मूल्यांकनलाई आधार मानेर मुआव्जा निर्धारण गरिने शाहीले बताए ।
रेल विभागले पत्राचार गरी वडा कार्यालयहरुलाई चलनचल्तीको मूल्य पठाउन एक महिनाअघि नै परिपत्र गरेको थियो । तर, पालिकाहरुले विभागलाई मूल्यांकन पठाएका छैनन् । त्यसका लागि केही दिनअघि रेलवे प्रभावितहरुले खवरदारी गरेका थिए ।