मनिषा चम्लागाईँ ,

भारतको सिलगुडीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट पहिचान सकिएको छ ।

सर्भेअनुसार पाइपलाइन सिलगुडीबाट भारतको पानीट्यांकीको दक्षिण भेग हुँदै नेपाल र भारतको सीमानामा रहेको मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम लोकमार्ग हुँदै निगमको झापा चारआलीमा भण्डारण गरिने छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले बताए । जमिनदेखि २ मिटरमुनि पाइपलाइन बिछ्याइने छ ।

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइनबारे स्थलगत निरीक्षण गर्न झापा आइपुगेका निगमका कार्यकारी प्रमुख पौडेलले सो क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जोखिमपूर्ण रहेको बताए । “सिलगुडी– झापा पाइपलाइन विस्तार चुनौतीपूर्ण छ” पौडेलले भने, “भारतपट्टि जंगल, घना बस्ती रहेको छ । नेपालतर्फको रुटमा खोला, सार्वजनिक जग्गा र केही भागमा सुकुमबासी बस्तीसमेत छ, तर हामी यसलाई उच्चतम् व्यवस्थापन गरेर पाइपलाइन विस्तार गर्दैछौँ ।” पाइपलाइनको लागत भारततर्फ भारत सरकारले नै बेहोर्ने र नेपालतर्फको रुट मात्र नेपालले बेहोर्ने प्रमुख पौडेल बताउँछन् । “मोतीहारी–अमलेखगन्ज पाइपलाइनको ७० किलोमिटर लम्बाइ रहेको सो पाइपलाइन ४ अर्ब बढी लागतमा निर्माण भएको थियो, यसको खर्च आइओसीले बेहोरेको थियो” प्रमुख पौडेलले भने, “सो परियोजनाको तुलनामा सिलगुडी–झापा पाइपलाइन करिब २० किलोमिटर छोटो भए पनि लागत अझ बढी हुने अनुमान गरिएको छ ।” चारआलीमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण हुनेछ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर बिछ्याउनुपर्ने सर्भे टोलीका इन्जिनियर मसिनी खड्काले बताइन् । आइओसी टोलीसँग मिलेर विस्तृत इन्जिनियरिङ गरिएको इन्जिनियर खड्का बताउँछिन् । पाइपलाइनसँगै ग्याससमेत भण्डारण हुने जनाइएको छ ।

झापाको चारआलीमा २३ विगाह जग्गामा पेट्रोलियम पदार्थ भण्डारणका संरचना निर्माण हुँदैछ । ०७३ सालमा निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको हो । नेपाल आयल निगम चारआलीका प्रमुख मनिष न्यौपानेका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टीतेल र १ हजार दुई सय ५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुँदैछ । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश– १मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जानकारी दिएको छ । भण्डारण गृह पूर्व–पश्चिम लोकमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।

निगमले झापाको चन्द्रगढी विमानस्थलमा हवाई इन्धन भण्डारण गर्न मिल्ने डिपो निर्माण गर्ने भएको छ । डिपो निर्माणका लागि ३ कठ्ठा जग्गा लिजमा लिएको आयल निगमका कार्यकारी प्रमुख पौडेलले बताए । आगामी वैशाखभित्रमा हवाई इन्धन भण्डारणका संरचना निर्माण हुने पौडेल बताउँछन् । संरचना निर्माणसँगै भद्रपुरको हवाई इन्धन काठमाडौँको भन्दा कम मूल्यमा उपलब्ध हुने नेपाल आयल निगमले जनाएको छ । हवाईको लागि आवश्यक इन्धन सिलगुडीबाट विराटनगर र विराटनगरमा प्रशोधन गरेपछि मात्र भद्रपुर ल्याउने गरिएको थियो । भण्डारण गृह निर्माण भएपछि भद्रपुरमा नै प्रशोधन हुने भएकाले लागत मूल्य कम हुने र मूल्य घटाएर इन्धन बिक्री गरिने पौडेलले जानकारी दिए । ६० हजार लिटर क्षमताको हवाई इन्धन भण्डारण हुने जनाइएको छ । जसले चन्द्रगढी विमानस्थलको ७ दिनसम्मको मागलाई धान्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्