एजेन्सी । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।

अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन्। युरोपेली संघले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ।भाइरसको नयाँ प्रकारबाट संक्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरसको नयाँ प्रकार झन् संक्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन।
यूकेको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य संगठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ ।डब्लुएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो “नियन्त्रण बाहिर नरहेको” बताएका छन्।
उनको यो भनाइ बेलायती स्वास्थ्यमन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ ।