कुमरखोद,पुष ७ । झापा गाउँपालिकाको न्यायिक समितिको कार्यालयमा तोडफोड भएको छ ।

न्यायिक समितिमा परेको उजुरीमाथि छलफल भइरहेका बेला हिजो अपरान्ह न्यायिक समितिको कार्यालय रहेको गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाथोकीको कोठामा तोडफोड भएको हो । झापा गाउँपालिका वडा नं ४ का एक दम्पतीबीचको मतभेद मिलाउनेक्रममा न्यायिक समितिमा विवाद भई तोडफोड भएको हो । तोडफोडबाट उपाध्यक्ष बुढाथोकीको कोठाको टेबलमा राखिएको नेमप्लेट , झण्डा , टेलिफोन ,चियाका गिलास फुटेका छन् भने महत्वपूर्ण कागजात च्यातेर नष्ट पारिएको छ ।
न्यायिक समितिकी अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष बुढाथोकी विराटनगर गएको र सोही न्यायिक समितिका सदस्यहरु टीका विश्वकर्मा र राजकुमार कोचले उजुरीमाथि छलफल गराइरहेका बेला प्रतिवादी समूहले एक्कासी आक्रमण गरेको थियो । उजुरीकर्ता अफजाल हुसैन , हसिना बानु , तयव अली र नासिम अलिमाथि न्यायिक समितिको कार्यालयमै आक्रमण भएको हो । उनीहरुलाई साफिक उलशेख ,उनका बुवा कलाम शेख , आशिकुल शेख , रोजाबुल शेख , गुलाब मिया , हजरत अलि , कलाम अलि , आलमवीरलगायतले आक्रमण गरेको न्यायिक समितिका सदस्य विश्वकर्माले बताए ।‘ हामीले छलफल गराइरहेका थियौं ’कार्यपालिका सदस्यसमेत रहेका विश्वकर्माले भने ,‘ साफिक उलशेखले ढोकाबाट उपाध्यक्षको टेबलमा चढेर एक्कासी श्रीमती हसिना बानु र सालो तयब अलिमाथि आक्रमण गरे ।’ त्यसपछि प्रतिवादी पक्षका अरुले पनि डाङ्गडुङ्ग गर्न थालेको उनले बताए ।
यसरी सांघातिक आक्रमण गरेपछि घटनाका बेला आफूहरुलाई पनि ज्यान जोगाउन गाह्रो परेको अर्का मेलमिलापकर्ता राजकुमार कोचले सुनाए । न्यायालयमा आएर उनीहरुले त्यस्तो हर्कत गर्नु राम्रो नभएको वडा नं २ का वडा सदस्य समेत रहेका कोचले बताए । आफू विराटनगर गएका बेला आफ्नो कोठामा अप्रिय घटना भएको न्यायिक समितिकी अध्यक्ष रहेकी उपाध्यक्ष बुढाथोकीले बताइन् । सार्वजनिक स्थान त्यसमा पनि न्यायिक समितिको कार्यालयमै भएको तोडफोडको घटनामा संलग्नलाई कानूनी कार्वाही हुनुपर्ने न्यायिक समितिका सदस्य विश्वकर्मा बताउँछन् । त्यसबारे गाउँपालिका र न्यायिक समितिमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । श्रीमान श्रीमती साफिक उलशेख र हसिना बानुबीचको मतभेदलाई लिएर न्यायिक समितिमा उजुरी परेको थियो । घटनाबारे प्रहरीले मुचुल्का सर्जमिन तयार गरेपनि अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।