झापा , पुष ७ । काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । मंगलबारै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए । पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।
बैठकमा अर्का अध्यक्ष दाहालले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएको बताएका थिए । ’पहिले पनि आलोपालोको मान्यता थियो । तर, ओलीको एकाधिकारवादी व्यवहरका कारण त्यो भएको थिएन । अब हामी मिलेर अगाडि जानेछौं,’ बैठकमा दाहालले भनेका थिए ।
पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्