झापा पुस, ८ । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार देशभर विरोध प्रदर्शन गरेको छ । सोहीअनुरुप जसपाले झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सांसद राधा थापाले प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरुपमा खारेजको माग गरिन् । “पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको जुन घोषणा गरियो त्यो पूर्णरुपले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी छ त्यसलाई जनता समाजवादी पार्टी पूर्णरुपमा खारेज गर्दछ” थापाले भनिन् “जनप्रतिनिधिसभालाई त्यो ढंगले विघटन गर्ने अधिकार संविधानमा छँदैछैन ।”


त्यस्तै जसपा केन्द्रिय सदस्य सूर्यनारायण गणेशले प्रतिनिधिसभा पुनःस्थापना गराउनुपर्ने माग राखे । वैशाख १७ र २७ गते घोषणा गरिएको मध्यावधि चुनाव निन्दनीय रहेको तर्क गरे । विरोध सभामा प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारीले समेत सम्बोधन गरेका थिए । जसपा केन्द्रिय समितिले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसअतिरिक्त जसपाले अरु दलहरुसँग तालमेल गरेर पनि जान सक्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्