मेचीनगर , पुष ९ । मेचीनगर ९ बस्ने ४२ वर्षिय पुलिस भन्ने पर्शुराम गौतमलाई हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले एक सातापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षिय बुधलाल किसान र उनका भतिजा २८ वर्षिय भयंकर भन्ने भुखन किसान रहेका छन् । उनीहरुलाई आज इलाका प्रहरी कार्यालय धुलाबारीमा सार्वजनिक गरिएको हो । गौतमको गत बिहीबार राति हत्या भएको थियोे । आफ्नै घर अगाडी आँगनमा शरीर तथा लुगामा रगत लागेको, टाउकोमा चोट भएको मृत अवस्थामा गौतम फेला परेका थिए । भोलिपल्ट बिहान ७.३० बजे स्थानीयले गौतमलाई मृत देखेर तत्कालै इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराएका थिए । ईप्रका धुलाबारीबाट प्रहरी निरीक्षक विकास राई नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटी गई घटनाको अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा पुष २ गते गौतमको घरमा बुधलाल र भुखनलगायतले रातिसम्म बसेर रक्सी खाएको र खाने क्रममा विवाद भई कुटपिट गरी हत्या गरेको खुल्न आएको हो । घटनापश्चात् दुवैजना गाउँ छोडेर भागेका थिए । पछि गाउँघरमै फेला परेका बुधलाललाई घटना बारेमा सोधपुछ गर्दा उनले आफू गौतमको घरमा रक्सी खाई बसिरहेको बेलामा भतिज भुखन पनि आइपुगेको र दुवैबीच एकापसमा विवाद भई भुखनले कुटपिट गरी गम्भीर घाइते बनाएर घरतर्फ लागेको प्रहरीलाई बताएका थिए । बुधलालले साविती बयान दिइसकेपछि भुखनलाई खोजतलास गर्ने मंगलबार काँकरभिट्टामा फेला पारिएको प्रहरीले बताएको छ । भुखनले भोलिपल्ट घटनाको समयमा लगाएका कपडाहरू माछा मार्ने ढोक्सामा हालेर आगो लगाएर नष्ट पारेका थिए । प्रहरीले फलामको पातलो रिम २ थान, कालो रंगको ट्राउजर एक थान, खरानी रंगको पातलो ज्याकेट एक थान र खरानी सेतो रंगको भेष्ट एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्