बिर्तामोड, पुस ९ । झापा सहयोगापेक्षी सडकआश्रित मानवरहित जिल्ला घोषणा भएको छ । प्रदेश– १ लाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने अभियानको पहिलो चरणमा बिहीबार झापा सडक मानवमुक्त जिल्ला घोषणा भएको हो ।

झापाका विभिन्न सडकमा रहेर जीविकोपार्जन गर्दै आएका ७६ जनालाई मानव सेवा आश्रममा पुनस्र्थापना गरिएको छ । जसमा झापाको मेचीनगर नगरपालिकाका २९ , बिर्तामोड नगरपालिकाका ७ , कनकाई नगरपालिकाका १५ , दमक नगरपालिकाका १३ , भद्रपुर नगरपालिकाका ३, बुद्धशान्ति गाउँपालिकाका ४ , गौरीगञ्ज गाउँपालिकाका ५ जना सडक मानवको पुनस्र्थापना गरिएको हो । प्रदेश –१ को झापा, मोरङ र सुनसरीको सडक पेटीमा रहँदै आएका मानिसको उद्धार कार्यक्रम शुरु गरिएको प्रदेश–१ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । सरकारले सडक मानवमुक्त मुलुक घोषणा अभियानअन्तरगत मानव सेवा आश्रमको सहयोगमा कार्यक्रम शुरु गरिएको कार्कीले बताए ।

मानव सेवा आश्रमले ७ प्रदेशको १५ जिल्लामा २२ वटा शाखा सञ्चालनमा ल्याएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुल्ला आकाशमुनि रात बिताउन विवश, घरबारविहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडक मानवको उद्धार गर्दै आएको उनले जानकारी दिए । मानव सेवा आश्रमले बेसहारा सहयोगापेक्षी सडकआश्रित मानवहरुको अवस्था अध्ययन तथा वितरण संकलन, उद्धार औषधोपचार, पालनपोषण, जिविकोपार्जन सम्बन्धि तालिम, पारिवारीक पुनर्मिलन र परिवारमा पुनस्र्थापना हुन नसकेका बेसहाराहरुको दीर्घकालिक संरक्षण गर्दैै आएको अध्यक्ष अधिकारीले जानकारी दिए । “अहिले हामीले विराटनगरमा दुईवटा घर भाडामा लिएर उद्धार गरिएका मानिसलाई राख्दै आएका छौँ” अधिकारीले भने, “सम्पूर्ण घर भाडा विराटनगर महानगरपालिकाले तिर्दै आएको छ ।” चालू आर्थिक वर्षमा नै प्रदेशस्तरीय मानव सेवा भवन निर्माण हुने अधिकारी बताउँछन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश–१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले लिनुपर्ने सडक मानवको अभिभावकत्व मानव सेवा आश्रमले लिएको भन्दै आश्रमको प्रशंसा गरिन् । मन्त्री गजमेरले आश्रमलाई प्रदेश–१ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । झापाको काँकडभिट्टादेखि दमकसम्मको सडकमा भोको पेटसहित भौतारिएका नागरिकलाई आश्रमले पुनर्जीवन दिएको जनाइन् । सरकारको नीति तथा कार्यक्रमका रहेको सडक मानवमुक्त मुलुक घोषणा गर्ने अभियानमा मानव सेवा आश्रम भरोसा बनेको गजमेरले बताइन् ।

कनकाई नगरपालिकाको खानेपानी कार्यालयको परिसरमा नगरप्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कनकाई नगरपालिकाले गरेको थियो । झापाका सम्पूर्ण पालिकाले आश्रमलाई सहयोगार्थ ३० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको नगरप्रमुख पोखरेलले जानकारी दिए । उद्धार गरिएका नागरिकलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले लत्ताकपडा उपलब्ध गराएको छ । त्यस्तै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले टोपी र नेपाल उद्यमशील महिला संघ झापाले मोजा उपलब्ध गराएको छ ।
कार्यक्रममा झापा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा प्रसाईँ, मेचीनगर नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँ, दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्