कुमरखोद ,पुष ९ । तत्कालीन कुमरखोद गाविसका कर्मचारीको लापरवाहीले एक महिलाले लाखौं रकम गुमाउनु परेको छ ।

झापा गाउँपालिका वडा नं २ बालुवाटारकी एक महिलाले ससुराको पेन्सन भत्ता र मृतकको शेषपछि आफन्तले पाउने रहलपहल रकम गुमाएकी हुन् । उक्त रकम तत्कालीन कुमरखोद गाविसका कर्मचारीले लापरवाही गर्दै जन्ममिति गलत लेखिदिएका कारण गुमाउनु परेको हो ।
तत्कालीन कुमरखोद गाविस वडा नं ५ हाल झापा गाउँपालिका वडा नं २ बस्ने धनकुमारी जिमीराई त्यस समस्यामा परेकी हुन् । उनका ससुरा आईबवहादुर राई भूतपूर्व पेन्सन खाने भारतीय सैनिक थिए । उनको गत २०७७ साल भदौ १३ गते निधन भएको थियो । स्व.आईबहादुर राईकी एकमात्र पत्नी मनमाया राईको २०५२ साल भदौ २६ गते निधन भईसकेको थियो । उनका एकमात्र छोरा सन्तकुमार राईको पनि वैदेशिक रोजगारको क्रममा २०६८ साल मंसिर ८ गते निधन भएको थियो । भुतपूर्व सैनिक आइबहादुर राईको सम्पूर्ण चलअचल सम्पत्तिको सबैभन्दा नजिकको हकदार एकमात्र बुहारी सरिता जिमीराई थिइन् । जिमीराईले ससुराको लिन रहेको बाँकी पेन्सन र काजक्रिया खर्चका लागि झापा गाउँपालिकाको वडा नं २ वडा कार्यालयमा निवेदन दिएर नाता प्रमाणित सिफारिस लिएकी थिइन् । उक्त सिफारिस लिएर भुतपूर्व सैनिकले पाउने पेन्सन भत्ता र रहलपहल रकम लिन फुस्रे क्याम्प धरान पुगेर निवेदन दत्र्ता गरिसकेपछि त्यस कार्यालयले ‘हामी तपाईहरुलाई सम्पर्क गर्छौ घर जानुस्’ भनेर पठाईदिएको थियो ।

फुस्रे क्याम्प धरानवाट बल्ल २ महिनापछि फोन आयो र जिल्ला प्रशासन कार्यालयवाट स–परिवारको फोटोसहितको पारिवारिक लगत विवरण र रहलपहल रकम लिनको लागि सिफारिस लिएर आउनु भनेर जानकारी गरायो । पीडित जिमीराईले जानकारी पाएपछि झापा गाउँपालिका वडा नं २ बाट फेरि पारिवारिक विवरण र रहलपहलको रकम लिनका लागि वडा कार्यालयवाट सिफारिस लिनका लागि निवेदन दर्ता गराइन् । त्यसको एक दिनपछि वडाले घरमै गएर सर्जमिन गरिसकेपछि वल्ल सिफारिस दियो । उक्त सिफारिस लिएर पीडित महिला जिल्ला प्रशासन कार्यालय भद्रपुर गईन् र वडाको सिफारिस देखाइन् । फेरि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई सर्जमिन वुझीलिनु भनेर पीडित महिलालाई पत्र थमायो । उक्त पत्र लिएर उनी जिल्ला प्रहरी कार्यालय गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय झापाले ईलाका प्रहरी कार्यालय कुमरखोदलाई सर्जमिन मुचुल्का बुझी पठाईदिनु भनेर महिलालाई पत्र थमाइदिएको थियो । पीडितले ईप्रकाकोे पत्र लिएर प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाकोमा गएर तोक लगाउन जाँदा जन्ममिति २०४१ साल र विवाह मिति २०५२ देखिएको थियो । ११ वर्षमा विवाह देखिएकोले प्रजिअले तोक लगाए नदिएपछि ती महिला निराश भएर बाहिर आईन् । त्यसपछि ती महिलाले फेरि नागरिकता फाँटमा गएर ढड्डामा रेकर्ड हेर्दा जन्ममिति २०४१ साल नै लेखेको पाइयो । पीडित महिलाले भावुक हुदै भनिन्– २०६३ सालमा कुमरखोदमा नागरिकता टोली आउँदा मैले नागरिकता बनाएको थिएँ अनपढ मान्छे कालो अक्षर भैंसी वरावर जस्तै हो सरहरुले नागरिकतामा जे लेखिदिनु भयो म खुशीले गद्गद् भएर नागरिकता लिएर घर गएँ । वल्ल मलाई आज थाहा हँुदैछ नागरिकतामा मेरो जन्ममिति २०४१ लेखेको रहेछ ।

उनको जन्ममिति २०३३ साल हो । नागरिकतामा वास्तविक जन्ममिति लेखेको भए उनले ससुराको पेन्सन भत्ता र काजक्रिया खर्च गरी एकलाख भन्दाबढी रकम पाउँथिन् । ‘त्यो रकमले मेरो घर व्यवहार राम्ररी चलाउन सक्थेँ’ उनले भनिन् ,‘ कुमरखोद गाविसको कर्मचारीको लापरवाहीले गर्दा मेरो सवै रकम खेर गयो ।’ ती महिला सामान्य परिवारकी हुन् । उनको एक छोरा र तीन छोरी रहेका छन् । अहिले कुमरखोद गाविस झापा गाउँपालिकाको वडा नं १ र २ बनेको छ । एक कर्मचारीले बताएअनुसार त्यसबेला कुमरखोद गाविस सचिव एकराज लम्साल थिए भने नागरिकता टोलीको प्रमुखमा नयराज नेपाल चन्द्रगढीबाट खटिएर आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्